दार्चुला । अवस्थी कलेक्शन महेन्द्रनगरका प्रोपराईटर खिमानन्द अवस्थी, राजु अवस्थी र धर्मानन्द अवस्थी दाजुभाईले मालिकार्जुन गाउँपालिकाका बाढि, पहिरो पिडित परिवारलाई राहत वितरण गरेका छन् ।
गाउँपालिकामा शुक्रबार औपचारीक कार्यक्रमको आयोजना गरी ३३ घरपरिवारलाई राहत वितरण गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । प्रतेक परिवारलाई २५ किलोग्राम चामल, एक किलोग्राम नुन, दुई किलोग्राम दाल र एक लिटर तेल वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, उपाध्यक्ष पुष्पा अवस्थी लगायतको सहभागिता रहेको थियो ।
यसैबिच रुडेस बैतडीले दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा एक सय १२ परिवार र वडा नम्बर ११ नागार्जुनमा ८८ परिवारलाई राहत वितरण गरिएको छ ।
वडा नम्बर ९ का एक सय १२ परिवारलाई दुई लाख ६० हजार ३८५ रुपैँया र वडा नम्बर ११ नागार्जुनका ८८ परिवारलाई दुई लाख छ हजार ५५ रुपैँया नगद राहत वितरण गरिएको स्थानीय नरेश पन्तले जानकारी दिनुभयो ।
कोरोना भाइरसको प्रभावले समस्या भोगिरहेका गरिब, विपन्न, एकल र बेरोजगार परिवारलाई छनोट गरेर राहत वितरण गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोबिन्दराज जोशीले बताउनुभयो । पाँच जना भन्दा बढी सदस्य भएको परिवारलाई प्रति परिवार दुई हजार ४१० र पाँच जनासम्मको परिवारलाई एक हजार २०५ रुपैयाका दरले राहत वितरण गरिएको छ ।
भोलि दशरथचन्द नगरपालिकाको वडा नम्बर ७ दुर्गास्थानमा राहत वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।