दार्चुला । नेपाली सेनाले व्याँसको घाँटीबगर ईलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाउने काम सम्पन्न गरेकाे  छ ।

गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले सम्झाैता अनुसार ५ सय ५० मिटर बाटोको ट्र्याक खुलाएको जनाएकाे छ ।

चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो। मौसम प्रतिकुल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम निर्धारित समयभन्दा दुई महिना ढिलाे गरेर सम्पन्न भएकाे छ ।

छाङरु जाेड्ने बाटो खुलेसँगै व्याँसका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा सदरमुकामसम्म अावतजावत गर्न सहज भएको छ।  व्याँसको छांगरुमा १ सय १७ र तिंकरमा ८७ घरधुरी गरी वडा नम्बर १ मा झण्डै दुई सय घरधुरीकाे बसाेबास रहेकाे छ ।

सेनाले बाटाे निर्माण गरेकाे तलपट्टि पहिराेले बाटाे भत्किएर समस्या भएकाेले घाँटिबगरकाे तललिर समेत बाटाे निर्माण गरिदिन स्थानीयले अनुराेध गरेका छन् ।

सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छांगरुमा बस्ने

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म बाह्रै महिना व्याँस गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ। स्थायी रुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा भएपनि सशस्त्र प्रहरी बाह्रै मास छांगरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयाे ।

सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने महानिरीक्षक खनालले बताउनुभयाे । उहाँले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएकाे छ ।

सीमाका जनताको समस्या समाधानमा कुनै कसुर बाकी नराखाैँ

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गर्नुभएकाे छ । व्याँसको छांगरु क्षेत्रको निरीक्षणबाट फर्किएपछि उहाँले सीमामा रहेका जनताको समस्या समाधानका लागि सरकारले जिम्मेवारी पूरा गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयाे ।

सबै मिलेर जनताको समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्नेमा सासंद ठगुन्नाले जाेड दिनुभएकाे छ ।

सीमाकाे सुरक्षा र विकास सरकारकाे प्राथमिकतामा : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । शनिबार खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको छ भन्नुभयो । उहाँँले यस क्षेत्रमा व्यापार र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो । “व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई स्थायी रुपमा राख्ने गरी पठाइन्छ ।”

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?