दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको छ । सुदूरपश्चिमको सशस्त्र बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरिशंकर बुढाथोकीले दत्तु बीओपी उद्घाटन गर्नुभएको हो ।
बीओपी उद्घाटन गर्दै डीआईजी बुढाथोकीले सीमा सुरक्षाको संबेदनशीलताको बारेमा जानकारी गराउदै काममा ईमानदार भएर कर्तब्य पालन गर्न सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । भारतसंग सीमा जोडिएको दत्तुमा सशस्त्रको बीओपी राख्न सरकारबाट यसअघि नै स्वीकृती प्राप्त भइसकेकोले आइतबार बीओपी उद्घाटन गरिएको सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
वर्तमान सरकारले सीमामा बीओपी तथा सुरक्षाकर्मी थप गर्ने नीति लिएपछि देशका विभिन्न सीमा क्षेत्रमा धमाधम सशस्त्र प्रहरीको बीओपी स्थापना भइरहेका छन् । सरकारले सीमा सुरक्षालाई प्राथमिकतामा राखेपछि गत बर्षसम्म दार्चुला सदरमुकाम खलंगामा सिमित रहेको सशस्त्र प्रहरीको उपस्थिति छोटो समयमै सीमा क्षेत्रमा बढ्दै गएको छ ।
गत बैशाख ३१ गते त्रिदेशीय सीमा क्षेत्र नजिक व्याँस गाउँपालिका–१ छाङरुमा सशस्त्रको बीओपी स्थापना गरिएको थियो । अहिले उक्त क्षेत्रमा सशस्त्रको गुल्म उद्घाटन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार मात्रै उद्घाटन गरेको सशस्त्रको ५० नम्बर गुल्म छाङरुको नेतृत्व डिएसपी धिरेन्द्र शाहले गरिरहनुभएको छ ।
छाङरुमा गुल्म उद्घाटन गरेको तेस्रो दिन आइतबार भारतसंग सीमा जोडिएको दत्तुमा पनि सशस्त्रको बीओपी स्थापना गरिएको छ । दत्तु बीओपीले महाकाली नगरपालिका–९ कोे बेत, उडै, चुच्चै, सकार तथा धाप क्षेत्रसम्मको ईलाका रहने गरी काम गर्ने जनाइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक शंकर सिंह धानुकको नेतृत्वमा दत्तु बीओपीमा सशस्त्र टोली खटिएको छ ।
गत असार १८ गते एकैदिन दार्चुलाको सीमा क्षेत्रमा तीन ओटा बीओपी स्थापना गरिएको थियो । व्याँस गाउँपालिका–२ दुम्लिङ, मालिकार्जुन गाउँपालिका–७ जौलजीवि र लेकम गाउँपालिका–३ लालीमा बीओपी उद्घाटन गरिएको थियो । त्यसैगरी व्याँस गाउँपालिकाको कौवा, तिकंर र सुन्सेरामा पनि सशस्त्र बीओपी राख्ने तयारी भइरहेको छ । कालापानी नजिकको कौवा क्षेत्रमा छिट्टै बीओपी स्थापना गरिने गृहमन्त्री रामबहादुर थापाले बताउनुभएको छ ।
सीमामा सशस्त्रको उपस्थिति बढ्दै गएपछि सीमा सुरक्षा हुनुका साथै अबैध चोरी, सिकारी लगायत बिकृतिहरु नियन्त्रणमा आउने र जनताले सुरक्षित महसुस गर्ने विस्वास लिइएको छ ।