दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमता भन्दा दोब्बर कैदी बन्दी हुँदा समस्या भएको छ । २५ जना पुरुष राख्न सकिने क्षमता भएको कारागारमा कोचाकोच गरेर ५० जना पुरुष कैदी बन्दी राखिएको छ ।

हाल कारागारमा ४७ कैदी र छ बन्दी गरी ५३ जना कैदीबन्दी रहेका छन् । जसमध्ये दुई कैदी र एक थुनुवा गरी तीन जना महिला रहेको जेलर मान बहादुर खडायतले जानकारी दिनुभयो । ठाउँ अभावमा कैदी बन्दीहरुलाई खान र सुत्न समेत समस्या हुने गरेको छ । विहान शैचालय जादा लाइन लाग्नुपर्ने अवस्था रहेको जेलर खडायतले बताउनुभयो ।

जिर्ण बन्दै गएका भवनमा सुत्न समेत ठाउँ अभाव हुने गरेकोले कैदी बन्दीहरु समय समयमा बिरामी पर्ने गरेका छन् । स्वास्थ्य परीक्षण र उपचारका लागि स्वास्थ्यकर्मी नहुदा सामान्य स्वास्थ्य समस्या देखिदा समेत कैदी बन्दीहरुलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर खडायतले बताउनुभयो । कारागारमा अहेबको दरबन्दी भएपनि चार वर्षदेखि रिक्त रहेको छ ।

दार्चुला कारागारमा २०७३ साल मंसिर २१ गतेसम्म हेल्थ असिस्टेण्ट पदमा मोहन महरा कार्यरत भएपनि उहाँको जिल्ला अस्पताल सरुवा भएपछि कोहि पनि स्वास्थ्यकर्मी कारागारमा नआएको खडायतले बताउनुभयो । चार वर्षदेखि स्वास्थ्यकर्मी नहुदा कैदी बन्दीहरुको नियमित स्वास्थ्य परीक्षण र उपचारमा समस्या भइरहेको छ ।

एक जना कैदीलाई माफी

संविधान दिवसको अवसरमा जिल्ला कारागार दार्चुलामा कैद भुक्तान गरिरहेका नौगाड गाउँपालिका–६ धुलिगाडाका एक जना कैदीले माफी पाएका छन् । कर्तव्य ज्यान मुद्धामा ६ बर्ष पहिले जेल चलान गरिएका धुलिगाडाका आनसिह ठगुन्नाको बाँकी कैद मिनाहा गर्दै माफी दिइएको कारागार दार्चुलाका जेलर मान बहादुर खडायतले बताउनुभयो ।

शुरुमा २० बर्ष कैद फैसला भएका ठगुन्नाको सर्बोच्च अदालतबाट कैद सजाय घटाएर १२ बर्ष कायम गरिएको थियो । ६ बर्ष ३ महिना ४ दिन कैद सजाय भुक्तान गरिसकेका ठगुन्नालाई ५ बर्ष ८ महिना २६ दिन कैद माफी गर्दै रिहा गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी दार्चुलाका ठगुन्ना सहित २८९ जना कैदी बन्दीले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?