नेपालमा दिनहुँ ७ जनाको बलात्कार, चैतयता १२२१ बलात्कृत (विस्तृतमा)

बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला प¥यो । घटना भएकै दिन खिकालाकै राजेन्द्र बोहरा पक्राउ परे । सम्झनालाई बलात्कार र त्यसपछि हत्या बोहराले गरेको दाबी प्रहरीले गर्दै आएको छ ।

बझाङको हत्या घटनाले २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकै झल्को दिएको छ । सतहमा आएका बाहेक पनि बलात्कारका घटना दिनहुँजसो भइरहेको प्रहरीले जनाएको छ । अधिकांश घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कोरोना महामारी सुरु भएपछि दिनमा औसत ७ जनाको बलात्कार हुने गरेको उल्लेख गर्दै यस्तो अपराधमा संलग्न एकाधबाहेक अधिकांश कारबाहीको दायरामा ल्याइएको दाबी गर्नुभयो ।

पछिल्ला दिनमा बलात्कारका घटना बढ्दै गएपछि सर्वसाधारणदेखि सांसदसम्मले दोषीलाई मृत्युदण्ड हुने कानुन ल्याउनुपर्ने माग अघि सारेका छन । केही महिला सांसदले अनौपचारिक छलफलका क्रममा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी प्रस्ताव अघि सारे पनि त्यो तत्काल असम्भव रहेको नेकपा सांसद बिन्दा पाण्डेले बताउनुभयो । कतिपयले हालै जारी गरिएको एसिड अपराधविरुद्धको कानुनजस्तै बलात्कारका घटनामा पनि कठोर सजायको व्यवस्था हुनुपर्ने माग उठाएका छन । भएका कानुन कडाइका साथ पालना गर्न भने धेरैको नजर पुगेको देखिँदैन ।

मुलुकी अपराध संहिता २०७४ मा जबर्जस्ती करणीसम्बन्धी अपराध गर्नेविरुद्ध कडा सजायको प्रावधान छ । संहिताको दफा २१९ मा विवाहिता श्रीमतीसँग करकापमा शारीरिक सम्पर्क राख्नसमेत नपाइने उल्लेख छ । करकारपमा सम्बन्ध राखे श्रीमान्लाई ५ वर्षसम्म कैदसजाय हुन सक्छ । करणी कसुरमा उमेर र अवस्था तथा घटनाको प्रकृतिअनुसार ५ वर्षदेखि २० वर्ष सम्म कैद सजाय हुन सक्छ । दोषीलाई सजाय माफी मिनाहा पनि हुँदैन ।

अपराधमा संलग्न आफन्त, नातागोता, छरछिमेकलाई जोगाउन अपराधका तथ्य र प्रमाण लुकाउने, उजुरी दिन व्यवधान खडा गरेको, अपराधीको इज्जत प्रतिष्ठा पीडितले धानिदिनुपर्ने प्रवृत्ति हाबी हुँदा अपराधीको मनोबल बढ्ने गरेको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीको टिप्पणी छ ।

प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ । जसका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको देखिन्छ । पछिल्ला ४ वर्षको तथ्यांकले पनि यौनजन्य अपराधमा चिनजानकै मानिसको संलग्नता बढी देखिन्छ । कोरोना महामारीका बेला २०७६ चैत देखि २०७७ भदौसम्ममा मात्रै मुलुकभर १ हजार २ सय २१ जनाको बलात्कार भएको छ जुन दिनमा औसत करिब सात जना हुन्छ ।

चैतमा १ सय ३४, वैशाखमा १ सय ५२, जेठमा १ सय ९६, असारमा २ सय ४०, साउनमा २ सय ६६ र भदौमा २ सय ३३ जनाको बलात्कार भयो । यो आँकडाअनुसार भदौबाहेक हरेक महिना अपराधको ग्राफ बढ्दो छ । यो अवधिमा विवाहिता महिलादेखि युवती र किशोरी बालिकासम्मको बलात्कार भएको छ । २०७५ चैतदेखि २०७६ भदौसम्ममा भने बलात्कारका घटना १ हजार २ सय २४ वटा घटना भएका थिए । अपराधमा नातेदार र चिनेजानकैको संलग्नता तथा ‘अपराधीको प्रतिष्ठा’ जोगाइदिन यस्ता केही केस दर्ता नै नहुने प्रवृत्ति देखिएको छ ।

पञ्चायतीजस्ता अनौपचारिक संयन्त्र प्रयोग गरी केस प्रहरीसम्म जानै नदिने प्रपञ्च हुने गरेका छन । २०७४ पछि स्थानीय तहमै उपाध्यक्ष उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिबाट पनि यस्ता अपराध गुपचुप मिलाउँदा अपराधी सजिलै उम्किन सक्ने जोखिम रहेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले बताउनुभयो ।

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता कार्यकर्तादेखि सामाजिक अभियन्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका छन ।

कतिपय यौनजन्य हिंसामा पीडित भनिएका पक्षबाट पनि अर्को पक्षमाथि आर्थिक मोलमोलाईमा अपराध ढाकछोप गर्न खोजिएका घटना पनि हुने गरेका छन् । तर यसविरुद्ध सबैको एकमत अझै हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांक अनुसार २०७२र७३ देखि २०७६र७७ सम्मको ५ वर्षमा बलात्कारका ८ हजार ७४ घटना र बलात्कार प्रयासका ३ हजार १ सय ८८ वटा केस प्रहरीमा दर्ता भए । यो अपराध आरोपमा बहालवाला सभामुख कृष्णबहादुर महरादेखि नेपाल प्रहरीका एसएसपी सौरभ राणासम्म मुछिए । तर दुवै जनाले आरोपबाट सफाइ पाए ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले देशभर बलात्कारलगायत लैगिक हिंसाका अपराधसम्बन्धी ८५ प्रतिशत घटनामा महिला बालबालिका पीडित हुने गरेको बताए । लैगिक हिंसामध्ये ११ प्रतिशत बलात्कारका घटना छन । आजको कान्तीपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?