धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको छ। समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिनुभयो। परीक्षण उडानको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई धनगढी आउन लागेको बुढथापाले बताउनुभयो ।
सुरुमा धनगढी–बैतडी परीक्षण उडानको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्नुहुनेछ । अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको छ।
परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।





प्रतिक्रिया