युएईमा जारी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले तेस्रो हार ब्यहोरेको छ । जारी प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोर्ने क्रममा चेन्नईसन राइजर्स हैदरावादसँग ७ रनले पराजित भयो । आइपीएलको इतिहासमा चेन्नईले पहिलो पटक लगातार तीन खेलमा हार ब्यहोरेको हो ।
हैदरावादले दिएको १६५ रनको लक्ष्य पन्छाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५७ रन मात्रै बनाउन सक्यो । जसमा रविन्द्र जडेजाले ५० तथा कप्तान महेन्द्रसिंह धोनीले अविजित ४७ रन बनाए । हैदरावादका टि नटराजले सर्वाधिक २ विकेट हात पारे ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदारवादले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६४ रन बनायो । प्रियम गार्गले नटआउट ५१ रन बनाए । चेन्नईका लागि दीपक चहरले २ विकेट लिए ।
जितसंगै हैदरावादमा ४ खेलमा २ जित र २ हार सहित ४ अंक बटुल्दै अंकतालिकामा चौथो स्थानमा पुगेको छ । समान अंक रहेता पनि मुम्बई, दिल्ली, कोलकाता नेट रन रेटको आधारमा क्रमशः पहिलो देखि तेश्रो स्थानमा रहेको छ । राजस्थान र बैंगलोरको पनि समान ४ अंक रहेको छ ।
हार पछि चेन्नाई भने ४ खेलमा मात्र १ जितको साथ २ अंक सहित पुछारमा रहेको छ । पन्जाबको पनि समान जित र हार पछि २ अंकनै रहेको छ ।
प्रतियोगिता अन्र्तगत शनिबार २ वटा खेल हुने भएका छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स दिउँसो ३ः४५ बजे भिड्दा तथा दोश्रो खेलमा राती पौने ८ बजे दिल्ली क्यापिटलस र कोलकाता नाइट राइडर्सबिच प्रतिस्प्रर्धा हुने भएको छ ।




