दार्चुला । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताउनुभएको छ ।
ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताउनुभएको छ । उहाँले रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिस्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता नरहेको पनि बताउनुभएको छ ।
संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो !
अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 5, 2020
उहाँले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल तोडफोड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए । उनीहरुले प्रदेश पाँचको प्रस्तावित राजधानी दाङको भालुवाङ फेर्नुपर्ने बताउँदै आएका छन् ।




