दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ सौकेबगरमा नौगाड खोलामाथि लगाइएको काठेपुलबाट बगेर एक बालिकाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका–५ को समौजी आधारभुत विद्यालयमा कक्षा ३ मा अद्ययनरत परुली देबी ठगुन्नाकी ८ बर्षीया छोरी राजन्ती ठगुन्नाको मृत्यु भएको हो ।
समौजी आधारभुत विद्यालय मंगलबार (आज) देखि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै जोर बिजोर प्रणालीमा सञ्चालन गरिएको थियो । लामो समयसम्म विद्यार्थीहरु घरमै बस्दा दिक्क र चिन्तित भएको र पठनपाठन समेत ठप्प भएको भन्दै विद्यालयले आजदेखि शिक्षण सिकाई सहजिकरण शुरु गरेको समौजी आधारभुत विद्यालयका शिक्षक सुनमती धामीले जानकारी दिनुभयो । विद्यालय आउने क्रममा विद्यालयको नजिकै राखिएको काठेपुलबाट बगेर बालिकाको मृत्यु भएको शिक्षक धामीले बताउनुभयो ।
रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाश सिह धामीका अनुसार काठेपुलको थोरै माथि झोलुगें पुल निर्माण गरिएको छ । सौकेबगरमा घट्ट पिसानीका लागि आवतजावत गर्नेहरुका लागि काठेपुल राखिएको भएपनि सौकेबगर गाउँबाट काठेपुल तरेर विद्यालय पुग्न छोटो बाटो पर्ने भएकोले बालीकाले काठेपुल तर्न खोजेको स्थानीयले बताएका छन् ।
झोलुगें पुलबाट नदी पार गर्दा विद्यालय पुग्न थोरै घुमाउरो बाटो हिड्नुपर्ने भएकोले काठेपुल प्रयोग गरेको हुनसक्ने धामीले बताउनुभयो । बालीकाको परिवारमा आमाबुबा र दुई जना भाई रहेका छन् । बालिकाको मृत्युपछि ठगुन्ना परिवार शोकाकुल बनेको छ ।




