सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन्। भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन्।
सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।
गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ। कोरोना महामारीका कारण बाहिर जानसमेत अप्ठ्यारो भइरहेका बेला गाउँमा बनेका प्रसूति सेवा केन्द्र सञ्चालनमा नआउँदा समस्या भएको स्थानीयवासीले बताएका छन्।
पाटन नगरपालिका वडा नम्बर १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन्। आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारको रु १२ देखि २० लाखको लागतमा बनेका ती भवन अझै पनि सञ्चालन गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । कर्मचारीको अभाव र उपकरण औजारको अभावमा शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिएको छैन्।
यस्तै पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य एकाइ पनि सञ्चालनमा आएको छैन। स्थानीयवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माण भएका संरचना प्रयोगमा नआउँदा स्थानीयवासीलाई समस्या भएको छ।
सो सामुदायिक स्वास्थ्य एकाइमा शौचालय, खानेपानीको अभाव रहेको छ भने उपकरण र कर्मचारीको समेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनुभयो ।
पुर्चौँडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन। विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुकले बताउनुभयो ।





प्रतिक्रिया