दार्चुला । दार्चुलाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६ जनामा कोरोना संक्रमणको रिपोर्ट हिजो नै आएको भएपनि सार्वजनिक आज गरिएको हो ।
एकै दिन ४६ जना संक्रमित थपिएसंगै जिल्लामा कुल संक्रमितको संख्या एक सय ४६ पुगेको छ ।
कुल संक्रमितमध्ये दार्चुला सदरमुकाम खलंगामा कार्यरत ४८ जना सुरक्षाकर्मी छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत ४१ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ । यसअघि दुई जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार संक्रमण पुष्टि हुनेमा दार्चुलाका ४६ जना र डोटीका दुई जना रहेका छन् ।
दार्चुलाका ४६ मध्ये ४१ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत सुरक्षाकर्मी, दुई जना स्वास्थ्यकर्मी, एक जना गल्फैका कन्ट्रयाक्ट टे«सिङमा परेका नागरिक र दुई जना सशस्त्र प्रहरीको कन्ट्रयाक्ट टे«सिङमा परेका मानिस रहेका छन् ।
सशस्त्रको खलंगा गणमा कार्यरत सशस्त्र प्रहरी जवानदेखि सहस्त्र प्रहरी नायव निरीक्षकसम्मका ४१ जनामा संक्रमण पुष्टि भएपछि गणमा सुरक्षा सतर्कता अपनाइएको छ ।
आइतवार गणमा कार्यरत ५५ जना लगायत एक सय चार जनाको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा प्रयोगशालामा पठाइएको थियो । मंगलवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैदिन दार्चुलामा यति धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो ।
कन्ट्रयाक्ट टे«सिङका आधारमा स्वाब संकलन गरी पठाइएका मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ तथा ५८ जनाको नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा संयोजक मोहनसिह महराले जानकारी दिनुभयो । पछिल्लो समय दार्चुला सदरमुकाममा कोरोना समुदाय स्तरमा फैलिएको छ ।
सशस्त्र प्रहरीको गणमा कार्यरत अधिकासंमा कोरोना संक्रमण पुष्टि भएकोले विशेष सतर्कता अपनाउन र १४ दिन कम्तीमा व्यारेक भित्रै होम आइसोलेसनमा बस्न आग्रह गरिएको स्वास्थ्य संयोजक महराले बताउनुभयो ।
सुरक्षाकर्मीहरुको संक्रमणको जोखिमकै बिच सरुवा गरिदा एक ठाउँबाट अर्को ठाउँमा कोरोना फैलिने सम्भावना बढ्दै गएको छ । सरुवा भएपछि सुरक्षाकर्मीहरु गाउँ घरमा समेत पुगेर आउने भएकोले संक्रमण फैलिने सम्बावना अधिक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।




