बैतडीको पाटन नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।
नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो ।
यही असोज ३० गते सम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने उहाँले बताउनुभयो । नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि एकहप्ताका लागि नगरपालिका सिल गरिएको उहाँले बताउनुभयो ।
यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनुभयो ।
बैतडीका थप दुईजनामा कोरोना पुष्टी भएसंगै जिल्लामा संक्रमतिको संख्या चार सय २० पुगेको छ । संक्रमित मध्ये तीन सय ९७ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भईसकेको छ ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।




