दार्चुला । नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार धनगढीमा स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा मन्त्री अवस्थीलाई कोरोना पुष्टि भएको हो ।
केहि दिन पहिले कोरोना भाइरसका लक्षण देखिएपछि मन्त्री अवस्थीलाई उपचारका लागि दार्चुलाबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा स्वाब संकलन गरेर सेती अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री अवस्थीले सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
उहाँले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ, ‘हिजो गरिएको पीसीआर परीक्षणले मलाई कोरोना पोजिटिभ देखियो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ, विगत १५ दिन यता मेरो सम्पर्कमा रहनुभएका सबै इष्टमित्र, साथीभाइहरुले सेल्फ क्वारेन्टाइनमा बसी विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’ स्वास्थ्यमा केहि समस्या आएमा पीसीआर परीक्षण गरि चिकित्सकहरुको सल्लाह अनुसार सावधानी अपनाउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।
यसैबिच दार्चुला सदरमुकाम खलंगामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ । सदरमुकाममा समुदायस्तरमा कोरोना फैलिएको भन्दै खलंगालाई कोरोनाको हटस्पट बन्नबाट जोगाउन अत्यावश्यक कामबाहेक आवतजावत नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गर्न र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यसंस्थाहरुमा सम्पर्क गर्न चिकित्सकहरुले अनुरोध गरेका छन् । श्रोतका अनुसार पछिल्लो समय खलंगामा धेरैमा कोरोनाका लक्षणहरु देखा पर्न थालेका छन् ।
असोज १८ गतेयता कसैको पनि कोरोना परीक्षण नगरीएकोले संक्रमितको संख्या कम देखिएको छ । संक्रमितको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गर्दा धेरैमा कोरोना पुष्टि हुने सम्भावना उच्च रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । हालसम्म दार्चुलामा कोरोना संक्रमितको संख्या १४९ पुगेको छ ।





प्रतिक्रिया