दार्चुलामा अपि पावरले २२२ करोडको हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ बराबर ०.४८ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दार्चुलामा निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि अपुग रकम जोहो गर्न हकप्रद सेयर जारी गर्न लागेको हो ।

सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत आश्विन १८ गते स्वीकृत प्राप्त गरेको छ । कम्पनीका अनुसार २०७६ फागुन ३० गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ सेयरबराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) अनुपातमा सेयर जारी गर्न लागेको हो।

७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो चमेलियामा कूल लागतमध्ये ३० प्रतिशतले हुने २ अर्ब २२ करोड करोड रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ । बाँकी ७० प्रतिशतले हुने ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंक लिमिटेडको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट जुटाइएको छ ।

दार्चुलाको अपि हिमाल पग्लेर मार्मा गाउँपालिका भई बहने चमेलिया नदीको पानी उपयोग गरी अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध बन्नेछ । ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपमार्फत नदीको पानी फर्काइ मार्मा गाउँपालिकाको घट्टेगाढमा विद्युतगृह निर्माण हुनेछ ।

त्यहाँबाट उत्पादित विद्युत् १६ किलोमिटर लामो १३२ के.भी. प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । विद्युत् बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी हुनेछ । आम्दानीमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले बृद्घि हुँदै जाने प्रावधान छ ।

सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण सेयरको निष्काशन तथा बिक्री खुला हुनेछ । कम्पनीका अनुसार आगामी कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म गरिनेछ । कम्पनीको हालको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०७६÷०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरणअनुरूप कम्पनीको जम्मा नेटवर्थ १ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष तथा सञ्चित नाफामा १७ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.०४ रुपैयाँ रहेको जनाइएको छ ।

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुरपश्चिम प्रदेशको दार्चुलामा बग्ने नौगाड खोलामा प्रथम आयोजना ८.५ मेगावाटको नौगड गाढ निर्माण सम्पन्न गरी २०७२ भदौ २ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । सुदुर पश्चिममा निजी लगानीबाट १७ महिनाभित्र निर्माण गरी सञ्चालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो ।

कम्पनीले दोस्रो आयोजनाको रूपमा सोही खोलामा ८ मेगावाटको अपर नौगड गाढ निर्माण गरेको छ । आयोजनाबाट २०७६ साल कात्तिक १३ गतेदेखि विद्युत् उत्पादन भइरहेको छ । कम्पनीद्वारा सञ्चालनमा रहेका दुवै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ के.भी. प्रसारण लाइनमा प्रवाह गरिरहेको छ । -उर्जा खबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?