बैतडी सदरमुकाममा २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट बिजुली पुग्यो । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना बनेपछि त बैतडीबाटै देशका अन्य भागमा बिजुली जान्छ तर पनि बैतडीवासीको बिजुली बाल्ने सपना आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ ।
यो समस्या बैतडीको मात्र होइन सीमा जोडिएको दार्चुलाको पनि हो । बैतडी र दार्चुलाको सीमा बलाँचको चमेलिया जलविद्युत्बाट ३० मेगावाट बिजुली उत्पादन भए पनि विद्युत्को असमान वितरणले बैतडी र दार्चुलाका ५१ हजार ९८२ घरधुरी बत्तीमुनि अँध्यारोमा छन् । बैतडी सदरमुकाममा बिजुली पुगेको ३८ वर्षसम्म ३४ हजार ग्रामीण घरधुरी बिजुलीको पहुँचमा पुग्न सके
को छ्रैन । प्रत्येक निर्वाचनका बेला गाउँमा बिजुली पु¥याउँछौँ भन्ने चुनावी नारा बने पनि नेताहरूले वाचा बिर्सने गरेको नागरिक अगुवा डा. केदारचन्द्र भट्ट बताउनुहुन्छ ।
बैतडीका कुल ४७ हजार ९३० घरधुरीमध्ये हालसम्म १३ हजार ३१९ घरमा मात्र बिजुली पुगेको छ भने ३४ हजार ६११ घरधुरी अँध्यारोमा छन् । त्यसै गरेर दार्चुलाका २६ हजार ६७९ घरधुरीमध्ये नौ हजार ३०८ घरधुरीमा मात्र बिजुली पुगेको छ । दार्चुलामा १७ हजार ३७१ घरधुरी अँध्यारोमा छन् ।
सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण केन्द्र अत्तरियाका अनुसार बझाङमा १० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ भने बाजुरामा ११ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । त्यसपछि बैतडीमा २७ प्रतिशत र दार्चुलामा ३४ प्रतिशत, अछाममा ३७ प्रतिशत, डोटीमा ७० प्रतिशत र डडेल्धुरामा ७४ प्रतिशत घरधुरीमा मात्र बिजुली पुगेको छ । जब कि तराईका कञ्चनपुरमा ९२ प्रतिशत र कैलालीमा ८९ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।
पहाडी जिल्ला दार्चुला र बैतडीको बलाँचबाट चमेलियामा उत्पादन भएको ३० मेगावाट बिजुली पहाडी भेगलाई अँध्यारोमा राखेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको स्थानीय नागरिकको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण केन्द्र अत्तरियाका अनुसार सुदूरपश्चिम प्रदेशका कुल पाँच लाख ४० हजार ७४५ घरधुरीमध्ये हालसम्म ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा ९० प्रतिशत घरधुरीमा बिजुली पुगेको विद्युत् वितरण केन्द्र अत्तरियाका प्रमुख सतिश कर्णले जानकारी दिनुभयो ।
तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा विद्युत् विस्तार हुन नसकेको कार्यालय प्रमुख कर्णको पनि स्वीकारोक्ति छ । विद्युत् विस्तारका लागि सरकारले जिल्लागत रूपमा विनियोजित गरेको बजेटअनुसार पहाडी जिल्लामा पनि विद्युत् विस्तारको काम अघि बढिरहेको उहाँले बताउनुभयो । विद्युत् वितरण केन्द्र बैतडीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा बैतडीका १२ गाउँका एक हजार आठ सय घरधुरीमा बत्ती बलेको छ । बैतडीका ३४ हजार ६११ घरधुरी अँध्यारोमा छन् ।
बजेट थोरै हुँदा वर्षमा एक हजार पाँच सय घरधुरीभन्दा बढीमा बिजुली पु¥याउन नसकिएको विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख मोहनदेव जोशीले बताउनुभयो । चार करोड रुपियाँको लागतमा यस वर्ष बैतडीको पाटन नगरपालिकाको बल्लासाउ, आरुबाटा, भणाली, डुब्के गाउँ, डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिकाको सित्तड, पञ्चेश्वर गाउँपालिकाको बिजुली, मटेला, शेली, जेबलकट्याँ र सुर्नया गाउँपालिकाको शङ्करपुरमा विद्युत्को ट्रान्समिटर जडान गरेर करिब एक हजार आठ सय घरधुरीमा बिजुली बलेको जोशीले बताउनुभयो । -गोरखापत्रबाट साभार




