दार्चुला । बैतडीको पाटन र बझाङको देवल विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ ।

धनगढीलाई बेस बनाएर बैतडीको पाटन र बझाङको देवल विमानस्थलम नियमित उडान हुने भएको हो ।

बैतडीको पाटन विमानस्थलमाहप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बतार्ईएको छ ।

अब १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ । नियमित हवाई उडान हुने भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ ।

तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर यात्रु प्रतिक्षालय स्थापना गरेर एकजना कर्मचारी राख्ने तयारी भएको स्वकीय सचिव भण्डारीले बताउनुभयो । यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।

परीक्षण उडानसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो ।

विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यहाँका बासिन्दामा उत्साह थपेको छ ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो । भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

यस्तै बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ ।

हप्ताको बिहिबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो ।

धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ। समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७,२८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहिबार र शुक्रबार मात्रै उडान हुने छ ।

देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान भएको थियो। धनगढी–बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ ।

संविधानसभा सदस्य अफिलाल ओखेडाले जहाज सेवा सञ्चालन भएपछि बझाङवासीलाई अत्यावश्यक काम पर्दा धनगढी जान सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?