दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा रहेको रानिशिखर स्वास्थ्य चौकीमा बिरामी बोक्न स्टेचर समेत नपाएको स्थानीयले गुनासो गरेका छन् ।
खर काट्ने क्रममा भिरबाट लडेर टाउकोमा चोट लागि गम्भीर घाइते भएका ६४ वर्षीया झुम्तीदेवी धामीलाई अस्पताल पुर्याउन स्टेचर समेत नपाएको उहाँका श्रीमान तारासिह धामीले दुखेसो गर्नुभयो ।
आज बिहान खर काट्ने क्रममा लडेर घाइते भएका धामीलाई गाउँकै रानिशिखर स्वास्थ्य चौकीसम्म पुर्याउन स्टेचर समेत नपाएको पिडितका आफन्तहरुले बताएका छन् । स्वास्थ्य चौकीमै समेत स्टेचर नपाएपछि परम्परागत खाटमा राखेर घाईतेलाई स्वास्थ्य चौकी हुदै गोकुलेश्वर अस्पताल पुर्याइएको छ ।
टाउको उठाउन नसक्ने गरी घाइते भएका धामीलाई बोक्न स्टेचर नपाउदा आफन्तले आधा बाटोसम्म पिठ्युमा बोकेर ल्याएको र बिच बाटोबाट खाटमा राखेर स्वास्थ्यचौकी पुरयाइएको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेण्ट कृष्णानन्द पन्तले स्वीकार गर्नुभयो ।
लडेर गम्भीर घाईते हुनुभएका धामीको गर्धन, शरीर र खुट्टामा चोट लागेको थियो, उहाँले भन्नुभयो, “स्टेचर नपाएको कुरा सहि हो, स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई स्टेचर व्यवस्थापन गर्न माग गर्दा वडा कार्यालयसंग बजेट नभएको र नगरपालिकाबाट बजेट पाइएमा खरिद गर्ने जवाफ पाएको उहाँले बताउनुभयो ।” घाइते धामीलाई स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि गोकुलेश्वर अस्पताल पठाइएको पन्तले बताउनुभयो ।
रेडियो लोकदर्पणसंगको कुराकानीका क्रममा उहाँले स्वास्थ्य चौकीमा रहेको स्टेचर लगेकाहरुले फिर्ता नगरेको र स्वास्थ्यचौकीसंग बाकी स्टेचर नहुदा खाटमा राखेर बिरामी बोक्नुपरेको बताउनुभयो । गाउँमा भएको स्टेचर मलामी लगेर उतै फालेको गुनासो समेत आएको छ ।
सडक, यातायातको सुविधा नपुगेको काडापारीबाट गोकुलेश्वर अस्पताल पुग्न चार घण्टा समय लाग्ने गरेको छ । भगौलिक विकटता र स्टेचर लगायत आधारभुत स्वास्थ्य सामाग्रीको समेत उपलब्धता नहुदा बिहान घाइते भएका धामीलाई बेलुकी गोकुलेश्वर अस्पताल पुर्याइएको छ । अहिले उहाँको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्गम तथा पहाडी क्षेत्रमा एकातिर खर काट्ने क्रममा भिरबाट लडेर अकालमै ज्यान गुमाउने जोखिम हुन्छ भने लडेर घाइते भएकाहरुको समेत समयमै औषधी उपचार नपाएर ज्यान नै जोखिममा पर्ने गरेको छ ।




