दार्चुला । सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको प्रमुख आतिथ्यता र प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी र प्रदेशसभा सदस्य गेल्बुसिह बोहराको विशिष्ट आतिथ्यतामा कृषि मन्त्रालय र मन्त्रालय अन्तरगत कृषि ज्ञान केन्द्र दार्चुलाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमबारे स्थानीय तहका जनप्रतिनिधिहरुसंग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र दार्चुलामा सोमबार आयोजित बैठकमा ज्ञान केन्द्रबाट सञ्चालित कार्यक्रमबारे स्थानीय तहका जनप्रतिनिधिहरुका साथै सरोकारवालाहरुसित छलफल गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र दार्चुलामा व्यवसायिक फलफुल बगैचा स्थापना, नमुना बगैचा, नर्शरी स्थापना, प्रतिफलमा आधारीत बिउँ अनुदानतर्फ मह, आलु, प्याज, भटमास आदिको बिउँ उत्पादनमा अनुदान दिने कार्यक्रम रहेको छ । यस्तै साना सिचाई आयोजना, सहकारी पुर्वाधार, रासायनिक र प्राङगारीक मल सम्बन्धि कार्यक्रमहरु रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख पन्तले बताउनुभयो ।
उक्त कार्यक्रममा कृषि मन्त्रालयको योजना कार्यान्वयन सम्बन्धि सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख एबं बरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद प्रसाद बोहराले प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, व्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्ट लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको पन्तले बताउनुभयो ।
मुख्यमन्त्री कृषि नमुना गाउँको स्थलगत अवलोकन तथा कृषि ज्ञान केन्द्र दार्चुलाको आयोजनामा सोमबार आयोजित स्थानीय तहहरुसँगको समन्वय बैठकमा सहभागि हुन उपसभामुख जोशी र मन्त्री चौधरी नेतृत्वको टोली आइतबार दार्चुला आइपुगेको थियो । दार्चुलामा कृषि क्षेत्रका गतिविधि, सम्भावना, समस्या लगायत विषयमा परामर्श गरिएको जनाइएको छ ।
कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहराको नेतृत्वमा कृषि ज्ञान केन्द्र दार्चुलाको टोलीले नौगाड गाउँपालिका र अपि हिमाल गाउँपालिकाको स्थलगत निरीक्षण भम्रण गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । उपसभामुख र मन्त्रीको टोली भने मंगलबार फिर्ता हुने बताइएको छ ।








