बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट भएको छ। गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद कायमै रहेकाबेला तालाबन्दी गरेका स्थानीयले ताला खोल्न गएको भन्दै अध्यक्ष माथि कुटपिट गरेका हुन्।
आज साझ भएको झडपमा गाउँपालिका अध्यक्ष बिष्ट सहित १४ जना घाइते भएको गाउँपालिका उपाध्यक्ष लिला विष्टले जानकारी दिनुभयो । घाइते हुनेहरुमा ५ प्रहरी तथा ६ जना आन्दोलनरथ पक्षका ब्यक्ति रअध्यक्ष बिष्टसंग रहेका अन्य तीनजना रहेको उहाँले बताउनुभयो । अहिले प्रहरी निरिक्षक धनदेव साउँदको नेतृत्वमा प्रहरी टोली घटना स्थल गएको छ।
अहिले गाउँपालिकाको वडा नम्बर ५ स्थीत रौलेश्वर कठ्यागौँडमा अस्थाई केन्द्र रहेको छ। तर २०७६ पौष ९ मा कार्यपालिकाको बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरको थियो। अस्थाई केन्द्र रहेको ठाउँबाट अन्यत्र केन्द्र सार्न लागेको प्रति असन्तुष्ट रहेका ब्यापारी र स्थानीय बासिन्दाले बिरोध गर्दै आएका थिए।
असन्तुष्ट पक्षले स्थानिय अर्जुन मडैको सयोजकत्वमा गाँउपालिका केन्द्र सघंर्ष समिति गठन गरि बिरोध गर्दै आएका छन्।
यसैबिच यसैहप्ता बसेको कार्यपालिकाको बैठकले १५ लाख रकम नयाँ ठाउँमा केन्द्रको संरचनाका लागि छुट्याएको भन्ने हल्ला बाहिर आएको भन्दै बिरोध झन बढेको हो। उनीहरुले सोमबार साँझ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।
मंगलबार र बुधबार गाउँपालिकाका पदाधिकारी र संघर्षरतपक्ष बीच छलफल भएको छ। तर दुई दिनको छलफल बिना निष्कर्ष टुंगीएको छ। बुधबार साँझपख भने एक मुचुल्का तयार गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट ताल्चा तोड्नका लागी कार्यालयको ढोकामा पुगेका बेला अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको बताइएको छ।
घाइते सबैको अवस्था सामान्य रहेको छ। अहिले उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ।




