२५ बर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः सुरु भएको छ । धनगढीलाई बेस बनाएर आजदेखि हवाई उडान सुरु भएको हो ।
विस २०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठुलो विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । समिट एयरले हप्ताको एकदिन उडान भर्ने गरि नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ ।
उहाँले भन्नुभयो“ पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ” । पहिलो दिन शुक्रवार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिनुभयो । धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्नेछ ।
धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैंया तोकिएको छ । नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ । तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर एकजना सम्पर्क व्यक्ती राखेर काम गरिएको जनाएको छ ।
यसअघि यही असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो ।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।
त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।




