आजदेखि तीन दिनसम्म भारतीय पेन्सनरहरुका लागि सीमा पुलहरु खुला

नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने खलंगा र जौलजिवि सीमा पुल आजदेखि तीन दिन सम्म खुल्ने भएका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ गतेबाट बन्द भएका सीमा पुलहरु भारतीय पेन्सनर रहेका नेपाली नागरिकहरुलाई भारतबाट पेन्सन बुझ्न र भारतमा बैंक खाता रहेकाहरुलाई कारोबार गर्नका लागि दोस्रो पटक खुलेका हुन् ।

गत चैत्र ११ गते देखि सीमानाका बन्द भएयता पेन्सरनरहरुका लागि गत असार २४ गते देखि २६ गते सम्म पनि सीमापुल खोलिएको थियो । भारतमा रोकिएका नेपालीहरु र नेपालमा रोकिएका भारतीयहरु अर्थात सीमा क्षेत्रमा समस्यामा परेका दुबै देशका नागरिकहरुलाई स्वदेश फिर्ता हुन पटकपटक पुल खोलिएपनि पेन्सन बुझ्नका लागि भने यसअघि एक पटक मात्रै असार २४ गते सीमा पुल खोलिएको थियो । त्यसयता पेन्सनरहरु र भारतमा बैंक खाता सञ्चालनमा रहेका नागरिकका लागि सीमापुल नखोलीदा भारतीय सेनामा सेवा गरेका रिटार्यड र भारतीय खाताधारी नेपालीहरु समस्यामा परेका थिए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपालीहरुको महान पर्व दशैँ शुरु भएकोले दशैँ खर्च जोहो गर्न समेत समस्या भएको भन्दै भारतीय पेन्सनरहरुले दशै मनाउनका लागि भएपनि पेन्सन बुझ्नुपर्ने भएकाले सीमापुलहरु खोल्ने विषयमा भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफमा भारतको धार्चुलाका एसडीएम अनिल कुमार शुक्लाले नेपाली पक्षलाई पत्र लेख्दै कार्तिक ५ गते देखि ७ गते सम्म विहान ९ बजे देखि २ बजे सम्म खलंगा स्थित सीमापुल र जौलजिवि स्थित सीमापुल खोल्ने सहमती ब्यक्त गरे अनुसार तीन दिनसम्म तोकिएको समयमा सीमा पुल खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार तीन दिन सम्म पेन्सनरहरुका लागि सीमापुलहरु खोलिन लागेकाले पेन्सनरहरुले नजिकका सीमाबाट भारत गएर पेन्सन बुझ्न भूतपुर्व सैनिक संघ दार्चुलाका अध्यक्ष तुला गिरीले आग्रह गर्नुभएको छ । पेन्सनरहरुले आफ्नो पेन्सनपट्टा सहित परिचय खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण रुपमा पालना गरेर पेन्सन बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

पुल खुलेको समयमा पेन्सनरहरु मात्रै पुलमा आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?