कोरोना भाईरस (कोभिड १९) को कारणले विगत वर्षहरुको जस्तो यो बर्ष दशैंको रौनक छैन् । कोरोना भाईरसको जोखिमले जिल्ला बाहिर रहेकाहरु पनि जिल्ला भित्रिन नपाउँदा दार्चुलामा दशैंको खासै रौनक नभएको स्थानीयले बताएका छन् ।

अरु बर्ष शक्तिपीठहरुमा पूजाआजाका लागि जिल्ला बाहिर रहेकाहरु पनि जिल्लामा भित्रिने गर्थे । सामुहिक रुपमा भेला भएर पिङ र हिङलो खेल्ने गरिन्थ्यो । पढाइ र रोजगारीको सिलसिलामा बाहिरिएकाहरु गाउँघरमा आउदा बेग्लै रौनक हुने गरेकोमा यो बर्ष कोरोनाका कारण दशैंमा समेत गाउँघर सुनसान बनेका लेकम ५ का गोपालदत्त जोशीले बताउनुभयो । दशैंको समयमा विभिन्न शक्तिपीठहरुमा बलिसहित धुमधामका साथ पूजाआजा र जात्रा हुने गरेको भएपनि यो बर्ष कोरोना भाईरसका कारण जात्राहरु स्थगित भएका छन् । मन्दिरहरुमा पुजा अर्चनाका लागि भने केहि मानिसहरु पुग्ने गरेका छन् ।

दशैंको समयमा बसाईसराई गरेर गएकाहरु पनि गाउँ फर्किदा रमाइलो हुने भए पनि कोरोना कहरले यो बर्ष समस्या निम्त्याएको नौगाडका स्थानीय प्रकाशसिह धामीले बताउनुभयो । विभिन्न मठमन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने र दशैंको दिन सामूहिक रुपमै जमरा लगाउने चलन रहेको भएपनि यो बर्ष कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रुपमा दशैं नमाउन सरकारले आग्रह गरेको छ ।

यद्धपी दार्चुलाको धेरै मन्दिरहरुमा परम्परा अनुसार मन्दिरमा सामुहिक जमरा राखेर नबरात्रा बसेको पाइएको छ । भीडभाडका कारण कोरोना जोखिम बढ्ने भएकाले घरमै दशैं मनाउन सरकारले आग्रह गरेपनि स्वास्थ्य सुरक्षा अपनाएर परम्परा अनुसार पुजाआराधाना गरिरहेको श्रद्धालु भक्तजनहरुले बताएका छन् । कोरोनाकै कारण यो बर्ष शक्तिपीठहरुमा बलि दिन रोक लगाइएको छ । बलि सहित जात्रा मनाएमा भीडभाड हुन सक्ने भएकाले स्थानीय प्रशासनले जात्रा तथा मेलामा रोक लगाएको छ ।

गृह मन्त्रालयले दशैँ अवधीभर प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न र सामुहिक जमघट हुने चाडपर्व मनाउन नदिन निर्देशन गरेको छ । महामारीको समयमा भिडभाड गर्दा समुदायमा कोरोना फैलिने जोखिम बढ्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य पालना गर्न गराउन सरकारले सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

कोरोना जुनसुकै मानिस र जुनसुकै स्थानमा पनि पुगेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै घरमै परिवारसंग स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर दशैँ मनाउनु उचित हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?