दार्चुला । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बन्धित विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेपछि दार्चुलाको लेकम गाउँपालिकास्थित अग्रेणी शैक्षिक संस्था लटिनाथ नमुना माबि चौपाताले पनि अगामी मंसिर २ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बन्धित विद्यालयलाई दिने नीतिगत निर्णय गरेसंगै लटिनाथ नमुना माबिले लकडाउनका कारण गत वैशाखदेखि रोकिएको कक्षा ११ को सबै परीक्षा मंसिर २ गते विहान ११ बजेदेखि सञ्चालन गर्ने गरी तयारी थालेको लटिनाथ नमुना माबिका सहायक प्रधानाद्यापक महेशराज जोशीले जानकारी दिनुभयो ।
विद्यालयले मंगलबार एक सूचना जारी गदै कक्षा ११ को परीक्षा सञ्चालन व्यवस्थापन, मुल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ बमोजिम विद्यालयले परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले कक्षा ११ का सम्पुर्ण नियमित, आशिक र ग्रेड बृद्धि परीक्षा आबेदन फारम भरेका परीक्षार्थीहरुको परीक्षा अगामी मंसिर २ गतेबाट सञ्चालन गर्ने जनाएको छ ।
मंसिर २ गते विहान ११ बजेदेखि परीक्षा सञ्चालन हुने भएकोले आवश्यक पुर्व तयारी गर्न सबै परीक्षार्थीहरुलाई सूचित गर्न थालिएको विद्यालयका प्रधानाद्यापक केशबराज बिष्टले जानकारी दिनुभयो ।
यसअघि जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना माबिले पनि यहि कार्तिक २३ गते देखि कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखि बन्द रहेको कक्षा ११ का परीक्षाहरु कार्तिक २३ गतेदेखि सञ्चालन गर्न लागिएको महेन्द्र नमुना माबिका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । महेन्द्र माबिले विज्ञान समुह र लेखा समुहको परीक्षा बिहान ८ बजे देखि सञ्चालन गर्ने छ भने शिक्षा समुहको परीक्षा दिउसो १ बजेबाट सञ्चालन गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ ।
यसैबिच बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा रहेको अमर शिक्षा केन्द्र माबि धामीगाउँमा समेत यहि कार्तिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन हुने भएको छ । माबि धामीगाउँमा कक्षा ११ का सम्पुर्ण नियमित, आशिंक र ग्रेड बृद्धि परीक्षा कार्तिक २३ गतेदेखि सञ्चालन हुने भएकोले आबेदन फारम भरेका परीक्षार्थीहरुले कार्तिक २० गतेभित्र विद्यालयमा सम्पर्क गरिसक्न सूचना जारी गरिएको माबि धामीगाउँका शिक्षक गोकर्ण पाठकले बताउनुभयो ।
नेपालमा २०४९ सालदेखि कक्षा ११ को पठनपाठन सुरु भएकोमा केन्द्रीय तहबाटै परीक्षा सञ्चालन तथा विद्यार्थीको नतिजा प्रकाशन गर्ने गरिएको थियो । यो बर्ष कोरोना भाइरसको संक्रमणका कारण शिक्षा क्षेत्रमा ठूलो फेरबदल भएको छ । कक्षा १० को एसईई परीक्षाको मूल्याङ्कनको जिम्मेवारी समेत सम्बन्धित विद्यालयलाई नै दिएर नतिजा प्रकाशित गरिएको थियो । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी पनि सम्बन्धित विद्यालयले पाएपछि अनुकुल समयमा परीक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयले तयारी थालेका छन् ।





