बैतडी । बैतडीको सिगास गाउँपालिका वडा नं ६ मा केही व्यक्तिले मदिरा सेवन गरेर कुटपीट गर्दा ८ जना घाइते भएका छन् ।
सोमबार मध्यरातीमा वडा सचिव नयनसिंह रोकायाले जड्याँहाहरुको हुल जमा गरेर दलित समुदायका ८ जनामाथि कुटपीट गरेको आरोप लागेको छ । कुटपीटमा परेकाहरुले वडा कार्यालयमा दिएको निवेदनमा वडा सचिवले मदिरा सेवन गरेका मानिसहरुलाई बोलाएर आफूहरुमाथि कुटपीट गरेको उल्लेख गरेका छन् ।
कुटपीटबाट स्थानीय हिरा लुहार, महामति विक, किरण लुहार, ईश्वर बिसी, अनिस बीसी, कालिभान विक, गजेन्द्र विक र कत्थुरा विक घाइते भएका स्थानीय राजेन्द्र विकले जानकारी दिनुभयो । निवेदनमा वडा सचिवले मदिरा सेवन गरेका मान बहादुर रोकाया, पदम रोकाया र खिमा रोकायालाई बोलाएर आफूहरुमाथि कुटपीट गरेको पीडितहरुले आरोप लगाएका छन् ।
यो बिषयमा वडा अध्यक्ष डम्मरसिंह धामीलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन भने प्रहरीको टोली घटनास्थल तर्फ गएको छ । घटनाको बारेमा प्रहरीलाई फोनबाट जानकारी प्राप्त भएको र प्रहरीचौकी टाढा भएकाले अहिले घटनास्थल तर्फ गईरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी पुगेपछि सत्यतथ्य बाहिर आउने उहाँले बताउनुभयो । वडालाई मदिरा निषेधित क्षेत्र घोषणाका लागि पहल गर्ने मानिसमाथि कुटपीट गरिएको स्थानीय राजेन्द्र विकले बताउनुभयो । पछिल्लो समयमा बैतडीका ग्रामीण क्षेत्रमा अवैध मदिराको कारोबारका कारण विभिन्न घटना हुने गरेका छन् ।




