नेकपा नेता बीर बहादुर ठगुन्नाको उपचारका क्रममा निधन

दार्चुला। नेकपा दार्चुलाका संस्थापक नेता बीर बहादुर ठगुन्नाको ६७ वर्षको उमेरमा निधन भएको छ । बि.सं. २०१० सालमा दार्चुलाको नौगाड गाउँपालिकामा जन्मेका नेता ठगुन्नाको उपचारका क्रममा काठमाण्डौँमा निधन भएको हो।

महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक वीर बहादुर ठगुन्ना तत्कालिन नेकपा एमाले दार्चुलाको स्थापना कालदेखि नै सक्रिय राजनीतिमा होमिनुभएको थियो । २०४८ सालमा दार्चुलाको चौलानी निर्वाचन क्षेत्रबाट नेकपा एमालेको तर्फबाट उम्मेदवार भएको नेता ठगुन्ना राप्रपा नेता अगवर बहादुर सिह संग पराजित हुनुभएको थियो ।

उहाँले २०५४ सालमा जिल्ला विकास समिति दार्चुलाको उपसभापती भएर दुई वर्ष काम गर्नुभएको थियो । २०५६ सालमा जिबिस उपसभापती पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका नेता ठगुन्ना नेपाली काग्रेशका नेता दिलेन्द्र प्रसाद बडूसंग पराजित हुनुभएको थियो । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदा २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बनेका नेता ठगुन्ना विगत ४० महिना यता क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो ।

पटकपटक तत्कालिन नेकपा एमालेको जिल्ला सचिव लगायत विभिन्न जिम्मेवारी सम्हालेका नेता ठगुन्ना नेकपा एमालेको केन्द्रिय अनुशासन आयोगको सदस्य समेत हुनुभएको थियो । घाँटीमा क्यान्सर भएपछि डेढ वर्षदेखि काठमाण्डौँमा उपचाररत उहाँको उपचारकै क्रममा बुधबार निधन भएको नेकपा दार्चुलाका नेता एबं नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।

गत असोज २२ गते नेता ठगुन्ना आफैले क्यान्सरको सल्यक्रिया सफल भएको भन्दै छिटै निको हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले यस्तो लेख्नुभएको थियो:- ‘आजबाट मेरो भुमिगत जीवन अन्त भएकोछ :- आजभन्दा ठिक ४० महिना पुर्व मुखको क्यान्सर भनेर पत्तो लागे देखिनै आफ्नो संपूर्ण ध्यान यसैको उपचामा केन्द्रीत गरेको र नेपालका सबै ठुला अस्पताल हरु भक्तपुर क्यान्सर , टिचिङ, मेडिसिटि,क्रिष्ट, मनमोहन , ओम,वीर अस्पताल पछि यहि नेपाल क्यान्सरले पनि दिल्ली रेफर गरेको र दिल्लीमा पनि अपरेसन संभव नभएकोले फिर्ता भएपछि केही आयुर्वेदिक सेवनगर्दै आफ्नो मृत्यु पर्खेर बसेक‍‍ो म जस्तो निरीह विरामी बिगत ३ महिना देखि खानाखान र बोल्न समेत नसक्ने भए पछि वीर हस्पिटल हुदै यस नेपाल क्यान्सर हस्पिटल हरिसिद्दिमा तीन महिनाको नियमित उपचार पछि आज क्यान्सर बाट ज्यान बचाउन सफल भई दिउँसो ३ बजे डिस्चार्ज हुने अवस्थामा पुगेको छु।तर क्यान्सर विजेता घोषणा भने अझै केही महिनाको फलोअप पछि मात्रै संभव हुनेछ ।यस सुखद घडीमा मेरो अनन्य मीत्रद्वय डा. भिम सिह तींकरी र डा. गुणराज अवस्थी, वीर हस्पिटलका Rt. hod. तथा नेपाल क्यान्सर को डा. जिसब टिमका डा.विवेक आचार्य लगायतको टिमबाट मेरो जीवन दान दिइ मेरो पुनर्जन्म दिन योगदान पुर्याउने पुनित कार्य कालागि धेरै धेरै धन्यवाद ।साथै कोरोनाको कारण कसैलाई खबर नगरिएको अवस्थामा पनि विभिन्न माध्यम बाट सुस्वास्थ्यको कामना गर्नुहुने शुभेच्छुक साथीहरु लगायत सम्पूर्ण भाईबन्धु, ईष्टमीत्रमा हार्दिक धन्यवाद भन्न चाहन्छु । साथै बिगत तीन बर्सदेखि मेरा सम्पूर्ण न्याय प्रेमी जनसमुदाय , कार्य कर्ता लगायत आम जनसमुदायसंगको संपर्क सम्बन्ध पुनःस्थिपित,पुर्जिवित हुने कुरामा पनि विश्र्वास दिलाउन चाहान्छु।अझै अबको लडाइँमा कोरोना संग पनि विजयी हुनेछौं भन्ने मा आसाबादी छु। धन्यवाद ।’

दार्चुला जिल्लाको कम्युनिस्ट आन्दोलनका सस्थापक नेता तथा समाजसेवी बीर बहादुर ठगुन्नाको निधनमा नेकपा दार्चुलाले शोक व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?