दार्चुला । दार्चुलाको कम्युनिष्ट आन्दोलनका संस्थापक एवं तत्कालिन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य बीरबहादुर ठगुन्नाको निधन भएको छ । तीन वर्षदेखि क्यान्सर पीडित नेकपा नेता ठगुन्नाको काठमान्डौँ स्थित केएमसी हस्पिटलमा उपचारको क्रममा निधन भएको नेकपा दार्चुलाका नेता एबं नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।
वि.सं. २०१० साल फागुन ३ गते नौगाड गाउँपालिकाको खार गाउँमा जन्मिएका नेता ठगुन्ना २०३० सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको नेता धामीले बताउनुभयो । ४७ वर्ष पहिले कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना २०३५ देखि अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । २०३७ असोजदेखि नेकपा मालेमा आबद्ध रहेका उहाँ २०४७ असार १२ देखि नेकपा इकाई कमिटी बझाङको बुंगल क्षेत्र सचिव रहनुभएको थियो ।
२०४७ सालमा तत्कालिन नेकपा एमालेको पार्टी सचिव हुनुभएको थियो । उहाँले तीन कार्यकाल दार्चुला जिल्लामा नेकपा एमाले पार्टी सचिव भई कम्युनिष्ट आन्दोलनको अगुवाइ गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातक सम्मको औपचारीक शिक्षा लिएका नेता ठगुन्नाले निजामति सेवामा दुई वर्ष सेवा गर्नुभएको थियो ।
महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका नेता ठगुन्नाले विद्यार्थी जीवनकालबाटै कम्युनिष्ट आन्दोलनमा होमिएपछि शिक्षक पेशालाई त्यागेर दार्चुला जिल्लामा कम्युनिष्ट आन्दोलन जन्माउनुभएको थियो । सरकारी जागिर त्यागेर कम्युनिष्ट आन्दोलनमा होमिएका उहाँ २०४८ सालको महानिर्वाचनमा जिल्लाबाट सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीलाई जिताउन सहयोग गर्नुभएको थियो ।
२०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुदै २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष समेत बनेका नेता ठगुन्ना २०५६ सालमा जिल्लाबाट कम्युनिष्ट पार्टीको सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०४८ सालमा राप्रपा नेता अगवर बहादुर सिह र २०५६ सालमा नेपाली काग्रेशका नेता दिलेन्द्र प्रसाद बडूसंग पराजित हुनुभएको थियो ।
केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदा २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बनेका नेता ठगुन्ना विगत ४० महिना यता क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो ।
दुई पटक सांसद पदमा उम्मेदवार बनेका ठगुन्नाले २०६४ सालको संविधानसभा र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट नेकपा केन्द्रिय सदस्य गणेशसिह ठगुन्नालाई सघाउनुभएको थियो ।
नेता ठगुन्नाले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दालाई निरन्तर उठाउनुभएको थियो । जननेता स्वर्गिय मदन भण्डारी, राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीसंगको नियमित सल्लाहपछि उहाँले कालापानीको स्थलगत भ्रमण समेत गर्नुभएको थियो ।
२०४८ सालमा दार्चुला पुगेका जननेता स्वर्गिय मदन भण्डारीसंग छलफल गरि कालापानीको स्थलगत भ्रमण पश्चात् पार्टीलाई प्रतिबेदन समेत बुझाउनुभएको थियो । उहाँले ‘कालापानी ओझेलमा, सीमाबासीका पीड’ जस्ता विभिन्न लेख रचनाहरु प्रकाशित गरेर सीमा समस्या र समाधानका उपायहरु पटकपटक उठाउदै आउनुभएको थियो ।
गत असोज २२ गते नेता ठगुन्ना आफैले क्यान्सरको सल्यक्रिया सफल भएको भन्दै छिटै निको हुने विश्वास व्यक्त गर्नुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले यस्तो लेख्नुभएको थियो:- ‘आजबाट मेरो भुमिगत जीवन अन्त भएकोछ :- आजभन्दा ठिक ४० महिना पुर्व मुखको क्यान्सर भनेर पत्तो लागे देखिनै आफ्नो संपूर्ण ध्यान यसैको उपचामा केन्द्रीत गरेको र नेपालका सबै ठुला अस्पताल हरु भक्तपुर क्यान्सर , टिचिङ, मेडिसिटि,क्रिष्ट, मनमोहन , ओम,वीर अस्पताल पछि यहि नेपाल क्यान्सरले पनि दिल्ली रेफर गरेको र दिल्लीमा पनि अपरेसन संभव नभएकोले फिर्ता भएपछि केही आयुर्वेदिक सेवनगर्दै आफ्नो मृत्यु पर्खेर बसेको म जस्तो निरीह विरामी बिगत ३ महिना देखि खानाखान र बोल्न समेत नसक्ने भए पछि वीर हस्पिटल हुदै यस नेपाल क्यान्सर हस्पिटल हरिसिद्दिमा तीन महिनाको नियमित उपचार पछि आज क्यान्सर बाट ज्यान बचाउन सफल भई दिउँसो ३ बजे डिस्चार्ज हुने अवस्थामा पुगेको छु।तर क्यान्सर विजेता घोषणा भने अझै केही महिनाको फलोअप पछि मात्रै संभव हुनेछ ।यस सुखद घडीमा मेरो अनन्य मीत्रद्वय डा. भिम सिह तींकरी र डा. गुणराज अवस्थी, वीर हस्पिटलका Rt. hod. तथा नेपाल क्यान्सर को डा. जिसब टिमका डा.विवेक आचार्य लगायतको टिमबाट मेरो जीवन दान दिइ मेरो पुनर्जन्म दिन योगदान पुर्याउने पुनित कार्य कालागि धेरै धेरै धन्यवाद ।साथै कोरोनाको कारण कसैलाई खबर नगरिएको अवस्थामा पनि विभिन्न माध्यम बाट सुस्वास्थ्यको कामना गर्नुहुने शुभेच्छुक साथीहरु लगायत सम्पूर्ण भाईबन्धु, ईष्टमीत्रमा हार्दिक धन्यवाद भन्न चाहन्छु । साथै बिगत तीन बर्सदेखि मेरा सम्पूर्ण न्याय प्रेमी जनसमुदाय , कार्य कर्ता लगायत आम जनसमुदायसंगको संपर्क सम्बन्ध पुनःस्थिपित,पुर्जिवित हुने कुरामा पनि विश्र्वास दिलाउन चाहान्छु।अझै अबको लडाइँमा कोरोना संग पनि विजयी हुनेछौं भन्ने मा आसाबादी छु। धन्यवाद ।’
दार्चुला जिल्लाको कम्युनिस्ट आन्दोलनका सस्थापक नेता तथा समाजसेवी बीर बहादुर ठगुन्नाको निधनमा नेकपा दार्चुलाले शोक व्यक्त गरेको छ । भोली बिहान १० बजे पशुपती आर्यघाटमा नेकपाका नेताहरुद्वारा पार्टीको झण्डा ओढाई अन्तिम संस्कार गरिने नेकपा केन्द्रिय सदस्य गणेशसिह ठगुन्नाले बताउनुभयो ।




