दार्चुला । श्वासप्रश्वासमा समस्या देखिएका दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर ५ पासुका एक पुरुषको मृत्यु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडमा व्यवसाय गर्दै आएका ५० वर्षीय प्रेमसिंह कुवँरको मृत्यु भएको हो ।
केही दिनयता ज्वरो आएको र बुधबार श्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि जिल्ला अस्पताल पुगेका कुवँरलाई जिल्ला अस्पतालले धनगढी रेफर गरेको दार्चुला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।
उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको खोड्पे जनिक पुग्दै गर्दा उहाँको मृत्यु भएको हो । दार्चुला अस्पतालका अनुसार उहाँको शरीरमा अक्सीजनको मात्रा कम रहेकोले छिटो अस्पताल लैजान सल्लाह दिइएको थियो ।
मृतक कुवरको भारतीय जीवन बीमा र नेपालमा पनि बिमा भएकोले शवको पोष्टमाटम गरिने आफन्तहरुको भनाई छ । शव पोष्टमाटमको लागी अहिले जिल्ला अस्पतालमा राखिएको छ ।
मृतकको शोकमा उद्योग वाणिज्य संघ दार्चुलाले विहिबार दिउँसो १ बजे देखि साझ सम्म महाकाली नगरपालिकाको बजार क्षेत्रका सम्पुर्ण पसल, र उद्योगहरु बन्द गर्ने उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ ।




