नेकपा नेता एबं तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक पार्टी प्रमुख वीरबहादुर ठगुन्नाको विहिबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । साढे तीन वर्ष लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित ठगुन्नाको बुधबार बेलुकी काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँको दुखद निधनपछि पशुपतिमा विहिबार शोक सभाको समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भिम रावल, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिँह ठगुन्ना लगायत जनप्रतिनिधि, राजनीतिकर्मी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । ६६ वर्षको उमेरमा ज्यान गुमाएका ठगुन्नाको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा शोक सभाको आयोजना गरेको छ ।
नेकपा दार्चुला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागि सबै नेता, कार्यकर्ताले मृतक ठगुन्नाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आदर्श र योगदानको चर्चा गरेका छन् । जिल्लाको कम्युनिष्ट आन्दोलनका अग्रेणी व्यक्ति र अभिभावक गुमाएको नेकपाले अतुलनीय क्षेति बोहोर्नु परेको नेकपा जिल्ला कमिटी अध्यक्ष गणेश सिंह खत्रीले बताउनुभयो ।
तीन दिनसम्म नेता ठगुन्नाको फोटोमा माल्यार्पण गर्दै शोक मनाउने नेकपाले जनाएको छ । नेकपा दार्चुलाले ठगुन्नाको निधनमा १३ औँ दिनको पुण्य तिथिसम्म पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो । सदरमुकाममा आयोजित शोकसभामा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज लक्ष्मण दत्त जोशी, सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, जिल्ला नेता कार्यकर्ता र सदरमुकाममा उपलब्ध शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

नेता ठगुन्नाको निधनमा विभिन्न गाउँपालिका र नगरपालिकामा समेत शोकसभाको आयोजना गरिएको छ । नौगाड गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बीरबहादुर ठगुन्नाको आदर्श र सपनाहरु पुरा गर्न पर्ने धारणा राखेको रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाशसिह धामीले खबर पठाउनुभएको छ । यस्तै शैल्यशिखर नगरकमिटीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा पार्टीको आधा झण्डा झुकाएर ठगुन्नाको तस्बिरमाथि माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको अनेरास्ववियु शैल्यशिखर नगर कमिटी ईन्चार्ज राजेशसिह बिष्टले जानकारी दिनुभयो । यस्तै मार्मा गाउँपालिकामा पनि नेकपाले शोक पुस्तिका राखेर ठगुन्नाको निधनमा शोक सभा आयोजना गरेको नेकपा मार्मा गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर बिष्टले जानकारी दिनुभयो । मालिकार्जुन, लेकम, व्याँस लगायत विभिन्न गाउँपालिकामा पनि शोक सभाको आयोजना गरिएको छ ।

दार्चुलामा कम्युनिष्ट तथा बाम आन्दोलनका शिर्ष नेता ठगुन्नाको निधन भएपछि नेकपा दार्चुलाले समेत शोक व्यक्त गरेको छ । वि.सं. २०११ साल फागुन १३ गते नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डुमुण्डुमा जन्मिएका नेता ठगुन्ना २०३० सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको नेता धामीले बताउनुभयो । ४७ वर्ष पहिले कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना २०३५ देखि अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । २०३७ असोजदेखि नेकपा मालेमा आबद्ध रहेका उहाँ २०४७ असार १२ देखि नेकपा इकाई कमिटी बझाङको बुंगल क्षेत्र सचिव रहनुभएको थियो । २०४७ सालमा तत्कालिन नेकपा एमालेको पार्टी सचिव हुनुभएको थियो । उहाँले तीन कार्यकाल दार्चुला जिल्लामा नेकपा एमाले पार्टी सचिव तथा पार्टी प्रमुख भई कम्युनिष्ट आन्दोलनको अगुवाइ गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातक सम्मको औपचारीक शिक्षा लिएका नेता ठगुन्नाले निजामति सेवामा दुई वर्ष सेवा गर्नुभएको थियो ।
महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका नेता ठगुन्नाले विद्यार्थी जीवनकालबाटै कम्युनिष्ट आन्दोलनमा होमिएपछि शिक्षक पेशालाई त्यागेर दार्चुला जिल्लामा कम्युनिष्ट आन्दोलन जन्माउनुभएको थियो । सरकारी जागिर त्यागेर कम्युनिष्ट आन्दोलनमा होमिएका उहाँ २०४८ सालको महानिर्वाचनमा जिल्लाबाट सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीलाई जिताउन सहयोग गर्नुभएको थियो । २०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुदै २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित हुनुभएको थियो ।
२०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष समेत बनेका नेता ठगुन्ना २०५६ सालमा जिल्लाबाट कम्युनिष्ट पार्टीको सांसद पदमा उम्मेदवार बन्नुभएको थियो । २०४८ सालमा राप्रपा नेता अगवर बहादुर सिह र २०५६ सालमा नेपाली काग्रेशका नेता दिलेन्द्र प्रसाद बडूसंग पराजित हुनुभएको थियो । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदा २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बनेका नेता ठगुन्ना विगत ४० महिना यता क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । दुई पटक सांसद पदमा उम्मेदवार बनेका ठगुन्नाले २०६४ सालको संविधानसभा र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट नेकपा केन्द्रिय सदस्य गणेशसिह ठगुन्नालाई सघाउनुभएको थियो ।
उहाँले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दालाई निरन्तर उठाउनुभएको थियो । जननेता स्वर्गिय मदन भण्डारी, राष्ट्रबादी नेता स्वर्गिय प्रेमसिंह धामीसंगको नियमित सल्लाहपछि उहाँले कालापानीको स्थलगत भ्रमण समेत गर्नुभएको थियो । २०४८ सालमा दार्चुला पुगेका जननेता स्वर्गिय मदन भण्डारीसंग छलफल गरि कालापानीको स्थलगत भ्रमण पश्चात् पार्टीलाई प्रतिबेदन समेत बुझाउनुभएको थियो ।
उहाँले ‘कालापानी ओझेलमा, सीमाबासीका पीड’ जस्ता विभिन्न लेख रचनाहरु प्रकाशित गरेर सीमा समस्या र समाधानका उपायहरु पटकपटक उठाउदै आउनुभएको थियो । महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्ना कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, अध्ययन, अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो । नेता ठगुन्नाको निधनपछि सिगों पार्टी पंक्ती दुखी एबं मर्माहित भएको नेकपा दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनुभयो ।





