दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा यो वर्ष तिहारसम्म खाद्यान्न अभाव नहुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले माउण्टेन एयरको हेलिकोप्टरमार्फत ढुवानी अनुदानमा खाद्यान्न पुर्याएपछि तिहारसम्मको लागि खाद्यान्न व्यवस्थापन भइसकेको स्थानीयहरुले बताएकाछन् ।

व्यासबासी तिहार सकेर चिसो छल्न दार्चुला सदरमुकाम खलंगा बसाईसराई (कुञ्चा) गर्छन् । चिसोको समयमा मंसिरदेखि वैशाखसम्म खलंगा र बैशाखदेखि मंसिरसम्म व्यासमा बसोबास गर्दै आएका व्यासबासीले कुञ्चा सर्दासम्म खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिएको वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । दशैँ र तिहार लक्षित गरेर प्रदेश सरकारले छाङरु र तिङ्करका २१० घरधुरीलाई खाद्यान्न ढुवानी गरेको छ ।

व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराका अनुसार प्रति परिवार ३७ किलोग्राम चामल, १० किलोग्राम चिनि, पाँच किलोग्राम दाल, तीन किलोग्राम नुन र दुई लिटर तेल वितरण गरिएको छ ।

प्रदेश सरकारले ढुवानी भाडामा ४५ लाख रुपैया खर्च गरेपनि खाद्यान्न सामाग्री भने स्थानीय आफैले रकम जम्मा गरेर किनेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा व्यासको लागि विशेष प्याकेज घोषणा गर्दै पुर्वाधार विकासका लागि पाँच करोड रुपैया बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास समिति कार्यालय दार्चुलामार्फत ढुवानीमा ४५ लाख रुपैया बजेट उपलब्ध गराएपनि खाद्यान्न सामाग्री आफैले किन्नुपर्दा समस्या भएको स्थानीय विनोद बुढाथोकीले बताउनुभयो ।

प्रदेशले खाद्यान्न खरिदको जिम्मेवारी वडालाई दिएपनि वडाको बजेट यसअघि नै विनियोजन भइसकेको र तत्काल स्थानीयबाट रकम जम्मा गर्न समेत समस्या हुने देखिएपछि अहिलेलाई प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, वडा सचिव विनोद बुढाथोकी, नेकपाका नेता जहेन्द्रसिह ऐतवाल र युवा समाजसेवी योगेश बोहराले खाद्यान्न खरिदमा झण्डै २० लाख रुपैयाँ खर्च गरेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

भारतले कालापानी नजिकका कुटी, बुदी, गुञ्जी लगायत गाउँका नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउनुका साथै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरेको छ । नेपाल सरकारले समेत यसतर्फ विशेष ध्यानदिनु आवश्यक रहेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?