दार्चुला । सुदूरपश्चिम दशनामी नाथ योगी समाजले फोक्सो पीडित राकेश योगीको लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । ४१ वर्षीय राकेश योगीको चार वर्ष पहिलेदेखी आधा फोक्सो खराब भएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लाको नरहरि नाथ गाउँपालिकामा जन्मेका राकेश योगी २० वर्ष देखी जन्मभूमी छोडेर कैलालीको घोडाघोडी नगरपालिका साडेपानीमा दिदीबहिनीको घरमा बस्दै आएका छन् ।
राकेश योगीको दिदीबहिनीहरुको सहयोगमा विवाह समेत भएको छ । विवाह पछि माईती पक्षको साहारामा कोठा भाडामा बस्दै आएका राकेशको साथमा तीन छोराछोरी र श्रीमती रहेका छन । सानै उमेरमा निमोनिया लागेका योगीलाई रोगले उग्र रुप लिए पछि एक जना दाई नाता लाग्ने आफन्तले ५ वर्ष पहिले कैलाली देखी काठमाण्डौ लगेर टिचिङ अस्पतालमा भर्ना गरेर परीक्षण गराउदा योगीको आधा फोक्सो खराब भएको रिपोर्ट आएको छ ।
सानै छदा निमोनियाको उपचार नपाउदा फोक्सो खराब भएको डाक्टरले बताएका छन । फोक्सो प्रत्यारोपण गर्नु पर्ने र फोक्सो प्रत्यारोपण गर्नका लागि ६० लाख रकम लाग्ने अस्पतालले बताएको छ ।
पैसा धेरै लाग्ने र आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग गरि जीवन रक्षा गरि दिन फोक्सो पीडित योगीले सबैलाई अनुरोध गर्नुभएको छ । अहिले जम्मा भएको पैसाको भरमा दिनमा १८ घण्टा कृतिम अक्सिजन र आधा दर्जन बढी प्रकारका औषधिको भरमा बाचेका योगीले सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि अपिल गरिरहनुभएको सुदूरपश्चिम दशनामी नाथ योगी समाजका संयोजक मधुसुमन नाथले जानकारी दिनुभयो ।
फोक्सो पीडित राकेश योगीलाई सहयोग गर्न चाहनेहरुले रत्न योगीको नाममा रहेको सनराइज बैकं कैलाली शाखाको खाता नम्बर ०४७१०२९२०२२०१७ मा रकम जम्मा गर्न सकिने सुदूरपश्चिम दशनामी नाथ योगी समाजका संयोजक नाथले बताउनुभयो ।






प्रतिक्रिया