सुदूरपश्चिमका छुट्टाछुट्टै स्थानमा ५ जनाको शव फेला परेको छ । दार्चुला, कैलाली, कञ्चनपुर र डाेटी गरी ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
दार्चुलामा १ जनाको शव फेला परेका छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर –२ गन्नाका ४० वर्षीय गाविन्द घरेडीको शव मंगलबार बिहान दार्चुलाको शैल्यशिखर–९ शिवपुरी धाम जग्वाचौर नजिक पानीको कुलोमा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक घरेडी डाडाबाग आधारभुत विद्यालय किमिचोर डिलाशैनी गाउँपालिका वडा नम्बर २ कपट्टाका प्रधानाद्यापक हुन ।
मृतकको टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने उहाँको हत्या गरिएको भन्दै आज दिउँसो महाकाली राजमार्ग अवरुद्ध समेत गरिएको थियो ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा १८ वर्षीया युवती ईन्द्रा चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले वडा नम्बर ८ मा १८ वर्षीया युवती मृत भेटिएको बताउनुभयो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा वेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परेपनि पहिचान खुल्न नसकेको बताउनुभयो ।
यस्तै भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका क्षेत्रबाट ४ किलोमिटर भित्र भारततर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायव उपरीक्षक थापाले भारतीय प्रहरीले महिलाको शव फेला पारेको बताउनुभयो ।
महिलाको शव नजिकै एउटा डायरी पनि भेटिएको छ । उक्त डायरीमा कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगना उल्लेख गरिएको छ ।
यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले बताउनुभयो ।




