दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा तालाबन्दी गरिएको छ । लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा सडक निर्माणको क्रममा भत्किएको सहिद गेट तत्काल निर्माण गरिनुपर्ने माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
यस अघि वडा कार्यालयलाई सहिद गेट निर्माणको लागी दुई पटक सम्म निवेदन दिदा समेत कुनै सुनुवाई नभएको भन्दै सहिद परिवार र स्थानीयहरुले तालाबन्दी गरेको बताएका छन् । गत आर्थिक वर्षको मिति २०७६ असार १४ गते सबैको सहमती अनुसार ३५ जनाको हस्ताक्षर सहित वडा कार्यालयलाई सहिद गेट निर्माणको जिम्मा दिएको थियो ।
स्थानीय दिपक बिष्टका अनुसार, गत असोज ९ गते पनि स्थानीयहरुले २४ दिने अल्टीमेटम सहित गेट निर्माण गर्न वडा कार्यालयलाई निवेदन दिएका थिए । तर वडा कार्यालयले सहिद गेट निर्माणमा कुनै चासो नदेखाएको र पटक पटक आग्रह गर्दा समेत कुनै वास्ता नगरेकोले वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
वडा अध्यक्ष दौलत सिंह साउदले भने खेताली देखि बडिपुरसम्मको सडक निर्माणको क्रममा बडिपुर विद्यालय नजिकैको सहिद गेट भत्किएको बताउनुभयो । उक्त सडकमा स्तरोन्नतीको लागी यस बर्ष पनि लेकम गाउँपालिकाले ३५ लाख बजेट विनियोजन गरेकोले सडकको स्तरोन्नती पछि सहिद गेट निर्माण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
अहिले पनि सडक सुधारको काम भइरहेकोले केहि महिना भित्रै गेट निर्माण गर्ने प्रतिवद्धता जनाउदा समेत स्थानीयहरुले ताला लगाएका छन् । यसअघि गरिएका प्रतिवद्धता कार्यान्वयन नभएको र एक महिना पहिले दिएको २४ घण्टे अल्टिमेटमको समेत सुनुवाई नभएको भन्दै आफुहरुले तत्काल सहिद गेट निर्माणको माग राखेर ताला लगाएको स्थानीयहरुले बताएकाछन् ।






