जीवनभर सुखदुःख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने बाचाकसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी छुटिटनुपर्छ भनेर कसैले कल्पना पनि गरेको हुुँदैन ।

तर दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ९ जनाको ज्यान गयो। त्यसमध्ये ३ जोडी कहिल्यै नदेखिले गरी सधैंका लागि छुट्टिएका छन्। उहाँहरु सँगै यात्रारत थिए।

दुर्घटनामा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखापरीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरीको बस दुर्घटनामा निधन भयो । ​

जोशीले आफ्नी जीवन साथी विमला, रनबहादुरले दीपा र करनले विमलालाई सधैंका लागि छोडे । दीपा भने डडेल्धुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् भने दुवै विमला अहिले पनि उपचारमा छन्।

दोगडाकेदार शोकमा डुब्यो

उक्त दुर्घटनाले दोगडाकेदार शोकमा डुबेको छ। दुर्घटनामा ९ जनाको मृत्यु भयो भने ३४ जना घाइने भएका छन्। जसमा बैतडीका ३, दार्चुला, कञ्चनपुर र कैलालीका २र२ जनाको मृत्यु भयो ।

बैतडीका मृत्यु हुने सबै ३ जना एउटै गाउँका हुन्। यस्तै एकै गाउँका ७ जना घाइते पनि भएका छन्। उहाँहरु तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन्।

मृत्यु हुने तीनै जना २५ देखि ३० वर्षमुनिका युवा हुन्। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकाका कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी छन्।

तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए। तर उहाँहरु घाइते अवस्थामा बाँचेका छन्। गाउँपालिकाका ३ जनाको मृत्यु र ७ जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको जनाएका छन्।

दोगडाकेदार–६ शोकमग्न भएको वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘तिहारको बेला खुसियाली हैन गाउँ नै शोकमा डुबेको छ,’ गाउँमा अन्त्यन्तै दर्दनाक घटना भयो, गाउँमा सान्नाटा छाएको छ।’

तराई जानका लागि बसमा चढ्नुभएको थियो उहाँहरु ।

दुर्घटनामा मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए । एक वर्षअघि मात्रै लोकसेवा आयोगको परीक्षा पास गरेका थिए कविन्द्रले ।

‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ,’ कविन्द्रका आफन्त हेमराज जोशीले भने ‘एक वर्षअघि मात्रै सरकारी जागिरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन।’

दोगडाकेदार–६ कै रणबहादुर पनि बिहीबार भएकै बस दुर्घटनामा बिलाए । श्रीमतीसहित उनी पनि तराई जाँदै थिए। ​ऐरीको मृत्युले मर्माहत बनाएको उहाँका साथी भुवन कार्कीले बताउनुभयो । श्रीमती र छोरासहित भाइटीकाका लागि बेलौरी हिँडेका करन बीच बाटोमै बिलाए।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोचलेकका वीरेन्द्र कार्की पनि घाइते भएका थिए। दुर्घटनाको कारण खुल्न नसकेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।थाहा खबरबाट 

सम्बन्धित समाचार

खोड्पे बस दुर्घटना अपडेट  : मृतक र घाइते सबैको पहिचान खुल्यो (भिडियो)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?