दार्चुला । भारतले अतिक्रमण गरेको कालापानी नजिकैको छाङरुमा सुरक्षाकर्मीका लागि भवन निर्माणको काम अलपत्र परेको छ ।
भवन निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले काम रोकेपछि निर्माणको काम अलपत्र परेको हो । कालापानीभन्दा झण्डै १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी गुल्म भवन निर्माण शुरु गरिएको हो ।
गृहमन्त्री रामबहादुर थापाले असोज २९ गते छाङरु पुगेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको शिलान्यास गर्नुभएको थियो ।
असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेपछि गृहमन्त्री थापा सशस्त्र आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र एआईजी रामशरण पौडेलसहित सेनाको हेलिकोप्टर लिएर दलबलसहित छाङरु पुगेर भवन शिलान्यास गरिएकाे थियाे ।
शिलान्यास कार्यक्रममा एक महिनाभित्रै तत्काललाई बस्न मिल्ने गरी निवासका लागि एक तला ठड्याउने घोषणा गरिएको थियो । तर कात्तिक सकेर मंसिर लाग्दा अहिले त काम नै रोकिएपछि निर्माण कार्य अन्यौलमा परेको छ । गुल्म अहिले स्थानीय जितसिंह बोहराको होटलमा भाडामा बसिरहेको छ ।
हिउँदमा ७ फिटसम्म हिउँ जम्ने छाङरुमा १६० जना जनशक्तिको दरबन्दी रहेको छ । तर पूर्वाधार अभावका कारण अहिले डीएसपी धिरेन्द्र शाहको कमाण्डमा जम्मा ६१ जना मात्र छन् ।
गुल्मपति शाहका अनुसार जग हाल्ने काम पनि पूरा भएको छैन । कामदार सबै गइसकेका छन् । स्थानीय कामदार पनि काममा आएका छैनन्। अहिले मौसम राम्रै भए पनि ठेकेदार कम्पनीले चिसो बढ्यो भनेर काम छाडेर गएको स्थानीयको स्थानीय जितसिंह बोहराले बताउनुभयो ।
गुल्म भवन निर्माणका लागि भदौ अन्तिम साता १० करोड रुपैयाँको ठेक्का सम्झौता भएको थियो । एक वर्षभित्रै निर्माण सक्ने गरी सुरेश चन्दको ग्वाल्लेक कन्सट्रक्सनले ठेक्का लिएको छ ।
ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवन हिमपातका समयमा समेत बस्नलायक बनाइने छ । ढुंगा, माटो र काठबाट भवनको छतमा कर्कटपाता राखिनेछ ।
ब्यारेक भवनसहितको ५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छ ।
हाल तीन तलाको ब्यारेक भवन निर्माणको योजना छ । गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशद्वार पनि बनाइने छ ।
निर्माण सामग्री हेलिकोप्टरबाट ढुवानी गरिसकिएको छ । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले भने काम रोकेकोबारे जानकारी नभएको बताउनुभयो । -जनता समाचारबाट





प्रतिक्रिया