दार्चुला । विगत २७ वर्षदेखि बन्द रहेको दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि प्रकृया अगाडी बढिसकेकोले चालु आर्थिक वर्ष २०७७÷०७८ बाटै पुर्ननिर्माणको काम शुरु हुने प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभएको छ ।
प्रेश संगठन नेपाल, दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सासंद ठगुन्नाले २०७२ सालमै स्वीकृत गरेर अगाडी बढाएको गोकुलेश्वर विमानस्थल बिचमा सरकार परिवर्तन हुदा नकारात्मक रिर्पोटहरु तयार पारेर ढिर्माणमा ढिलाई भएको जानकारी दिदै चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्कामार्फत विमानस्थल निर्माणको काम शुरु हुने दाबी गर्नुभयो ।
विमानस्थल सञ्चालनका लागि गत वर्ष डिपिआर तयार भएर स्वीकृत भइसकेको छ, सासंद ठगुन्नाले भन्नुभयो, विमानस्थलको ३ मिटर उचाइ बढाएर सञ्चालन गर्न सकिने प्राविधिक रिपोर्ट आएकोले त्यसका लागि बहुबर्षिय ठेक्का सञ्चालनको प्रकृया अगाडी बढेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत भएर पर्यटन मन्त्रालयमा पुगेको छ, केहि समय भित्रै बहुबर्षिय ठेक्का शुरु गरेर गोकुलेश्वर विमानस्थल निर्माणको काम यसै आर्थिक वर्ष भित्र शुरु हुने उहाँले बताउनुभयो ।
यो विमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य केहि विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनमा आइसकेको शन्दर्भमा गोकुलेश्वर विमानस्थलपनि छिटो सञ्चालन हुनुपर्ने दार्चुलावासीको माग छ । आर्थिक, पर्यटकिय लगायत जिल्लाको विकास र सम्भावनासंग जोडिएको विमानस्थल द्धन्दकालदेखि सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको छ । सिंगो दार्चुला जिल्ला र वैतडी र बझाङ जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भावनाहरु ओझेलमा परेका मात्र छैनन, आकस्मिक रुपमा रिफर गर्नुपर्ने बिरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।
विमानस्थल सञ्चालन नहुँदा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुला जिल्लाको पर्यटन प्रवद्र्धन हुन सकेको छैन् । प्रदेश राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रद यात्रा गर्नुपर्ने भएकाले पर्यटकहरु दार्चुला कमैमात्र पुग्ने गरेका छन् । गौचरण र खेलमैदानमा परिणत भएको विमानस्थल सञ्चालन गर्नका लागि प्रतिवद्धता अनुसार काम गर्न स्थानीयको माग छ ।
यसैबिच पत्रकार सम्मेलनमा बोल्दै नेता ठगुन्नाले नेकपामा देखिएको अन्तरविरोधहरु समाधान हुने र पार्टी कुनैपनि हालतमा विभाजन नहुने धारणा राख्नुभयो । वर्तमान अवस्थामा बिरामीहरुले उपचार नपाएर ज्यान गुमाउनुपरेको स्मरण गर्दै कोरोना महामारीलाई नियन्त्रण गर्न र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि पुर्वाधार विकास साझेदारी कार्यक्रमको ठूलो हिस्सा यो वर्ष स्वास्थ्य सामाग्री खरिदमा विनियोजन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको सुदृढिकरण, सडक यातायातको विस्तार र स्तरोन्नती, सीमा क्षेत्रको बाटो र सडक निर्माण, जिल्लाको खानेपानी र सिचाई सुविधा विस्तार लगायत विकास निर्माणका काममा स्थानीय, प्रदेश र संघीय सरकारका योजना कार्यक्रमहरु केन्द्रित रहेको बताउनुभयो । सीमा क्षेत्रको बाटो निर्माण सम्पन्न नभएर व्यासबासीले आवतजावतका लागि भारतकै भूमि प्रयोग गर्नुपरेको सन्दर्भमा उहाँले प्रदेश र संघीय सरकारले बजेट विनियोजन गरिसक्दा समेत व्यास गाउँपालिकाको कमजोरीका कारण चालु आर्थिक वर्षमा घोरेटो बाटो समयमै निर्माण सम्पन्न नभएको धारणा राख्नुभयो ।
गत वर्ष संघीय सरकारले बाटो निर्माणका लागि विनियोजन गरेको ५ करोड रुपैँया व्यास गाउँपालिकाले उपभोक्ता समिति गठनमा आनाकानी र विभेद गरेकोले खर्च नभएको बताउदै उहाँले चालु आर्थिक वर्षमा ठेक्काप्रकृया मार्फत बाटो निर्माण हुने र यसपछिको सिजनमा व्यासबासीले स्वदेशकै बाटो भएर कुञ्चा सर्न पाउने विस्वास व्यक्त गर्नुभयो । बाटो निर्माणका नाममा व्यास गाउँपालिकाले वर्षेनी बजेट खर्च गरेपनि गुणस्तरीय काम नभएकोले कारण व्यासबासीले भारतीय बाटोको प्रयोग गरेर सदरमुकाम आवतजावत गर्नुपरेको उहाँको भनाई छ ।




