दार्चुला । बैतडी पञ्चेश्वर गाउँपालिकामा एक जना फलामे साङलोले बाँधेर गोठमा राखेको अवस्थामा उद्धार गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ मटेलाका २८ वर्षिय रमेश चन्दलाई फलामे साङलोले बाँधेर गोठमा राखिएको अवस्थामा उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनु भयो ।
ती पुरुष करिब ११ वर्षदेखि पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएदेखि गोठमै बसिरहेका थिए । यसरी मानसिक सन्तुलन गुमाएर गोठको जीवन बाँचिरहेका चन्दलाई गाउँपालिका उपाध्यक्ष भट्टको पहलमा मानव सेवा केन्द्र आश्रम धनगढी लगिएको छ ।
गाउँपालिका उपाध्यक्ष भट्ट, मानव सेवा केन्द्रका संयोजक आदर्श ढकाल, अभियभाक सिद्धराज पनेरु लगायतको टोली गई उनको उद्धार गरेको छ । २०६० सालमा मावि कुलाउँबाट आधारभूत शिक्षा प्राप्त गरेका चन्दको मानसिक सन्तुलन बिग्रिएको थियो ।
मानसिक सन्तुलन बिग्रिएपश्चात् दयनीय आर्थिक अवस्थाका कारण उपचार हुन नसक्दा ११ वर्षदेखि उनी गोठमै बसिरहेका थिए । आर्थिक स्थिति कमजोर भएकै कारण समयमै उपचार गर्न नसकेको चन्दका बुवा जशी चन्दले बताउनु भयो ।
मानसिक सन्तुलन गुमाएका चन्दको उपचार र अन्य सेवामा पञ्चेश्वर गाउँपालिकाले ४० प्रतिशत आर्थिक सहयोग गर्ने उपाध्यक्ष बिना भट्टले प्रतिबद्धता जनाउनु भएको छ ।




