दार्चुला । व्यासी सौका समुदायका लागि खुलेको नेपाल–भारत जोड्ने खलंगा झोलुगें पुलबाट २२ सय चार जनाले आवतजावत गरेका छन् । व्यासको सितापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका ६० परिवार तिङ्करबासीलाई खलंगा ल्याउनका लागि सोमबार बिहान ९ देखि बेलुकी ५ बजेसम्म खलंगा सीमा पुल खुलेको हो ।

सीमा पुलबाट १४४ जना पुरुष र ६० महिला गरी २०४ जना कुञ्चा अर्थात तिकंरबाट सदरमुकाम बसाई सरेका छन् । पुल खुलेको मौकामा दुई हजार स्थानीयले समेत आवतजावत गरेको पाइएको छ । १३ सय पुरुष र सात सय महिला गरी दुई हजार जना अन्य मानिसहरुले समेत पुलमा आवतजावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । सोमबार खलंगा पुलमा कुल दुई हजार दुई सय चार जनाले आवतजावत गरेको उहाँले बताउनुभयो ।

व्यासबासीले स्वदेशकै बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्न दिनका लागि भारतीय प्रशासनलाई अनुरोध गरेका थिए । दुबै देशका स्थानीय प्रशासनको सहमतिमा अन्तर्राष्ट्रिय सीमा नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

भारतको बाटो भएर सदरमुकाम आएका सौका समुदायलाई खलंगा पुग्न छ दिन लागेको छ । व्यासकै छाङरु गाउँका एक सय पाँच परिवार मङ्सिर १९ गते सितापुल नाका भएर भारतकै बाटो हुदै खलंगा आउने तयारीमा छन् । छाङरुबासीका लागि मङ्सिर २४ गते खलंगा सीमा पुल खुला गर्ने दुबै देशबिच सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

व्यासीहरुलाई स्वदेश भित्र्याउनका लागि खुलेको पुलमा सयौँ स्थानीयहरुले समेत भिडभाड हुने गरी आवतजावत गरेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बन्द गरिएको पुलमा एकैपटक सयौँको भिड लाग्दा कोरोना संक्रमणको जोखिम झनै बढेको स्थानीयहरुले गुनासो गरेका छन् ।

कोरोनाका कारण गत चैत १० गतेदेखि बन्द रहेका दार्चुलाका अन्तराष्ट्रिय सीमा नाका ३९ पटक खोल्दा आठ हजार बढीले आवतजावत गरेका छन् । अत्यावश्यक कामका लागि दुबै देशको स्थानीय प्रशासनबिच समन्वय गरेर पुल खुलाउदा स्थानीय र व्यापारीहरुले समेत सीमा पार गरेर सामाग्री खरिद गर्ने गरेका छन् ।

यसैबिच भारतीय पेन्सनधारी नेपाली नागरिकहरुले पेन्सन बुझ्नका लागि आजदेखि पाँच दिनका लागि बैतडीको झुलाघाट नाका समेत खुला गरिएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?