दार्चुला । शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत देशभरीका शिक्षकहरुले चालु आर्थिक बर्षको तलब भत्ता नपाएको भन्दै आन्दोलन शुरु गरेका छन् ।
शिक्षण सिकाई सहयोग अनुदानमा विगत तीन बर्ष देखि सामुदायिक विद्यालयका माद्यमिक र आधारभुत तहमा कार्यरत शिक्षकहरुले चालु आर्थिक बर्षको सेवा सुविधा हाल सम्म नपाएको भन्दै तत्काल तलब भुक्तानी गर्न माग गर्दै आफुहरु आन्दोलित बनेको शिक्षक केशब जोशीले बताउनुभयो ।
विगतमा आर्थिक वर्षको शुरुमै शिक्षा तथा मावन श्रोत विकास केन्द्र मार्फत स्थानीय तह हुदै सम्बन्धीत विद्यालयहरुको खातामा रकम जाने गरेकोमा चालु आर्थिक बर्षमा बजेट निकासा नहुदाँ समस्या भएको शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरुको गुनासो छ । बजेट तथा कार्यक्रममा उक्त अनुदानको रकम विनियोजन गरिएको भएपनि अहिले सम्म निकासा नहुदा दशै, तिहार जस्ता चाडपर्वहरु समेत खल्लो भएको शिक्षक जोशीले बताउनुभयो ।
आइतबार दार्चुलाका अनुदानमा कार्यरत शिक्षकहरुले तत्काल तलबभत्ताको व्यवस्थापन गर्न माग गरेका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलामार्फत मन्त्रालय र विभागमा ज्ञापन पत्र पठाउदै शिक्षकहरुले तत्काल सेवासुविधा नपाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । तालाबन्दी गर्ने कार्यक्रम भएपनि हिजो समन्वय इकाइ र शिक्षकहरुबिच सकारात्मक छलफल भएपछि तालाबन्दी नगरिएको बताइएको छ ।
बैतडी, डडेल्धुरा लगायत देशका अधिकासं जिल्लामा तलब भत्ताको माग गरेर आफुहरुले तालाबन्दी गरेको संघर्ष समिति बैतडीका संयोजक तिर्थराज जोशीले बताउनुभयो ।
संगैका शिक्षक सहकर्मीहरुले तलब भत्ता बुझ्दा आफुहरु रित्तो हात फर्किनु परेको भन्दै शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति तथा अनुदानमा कार्यरत शिक्षकहरुले आन्दोलन थालेको संघर्ष समिति संयोजक जोशीले बताउनुभयो ।





प्रतिक्रिया