दार्चुला । कोरोना भाईरसको जोखिमका कारण बन्द रहेका दार्चुलाका सबैजसो विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । सरकारले कोरोना भाइरस कोभिड–१९ को प्रभाव नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाभरीका सबै विद्यालयहरुमा पठनपाठन शुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
दार्चुलामा ३३७ सामुदायिक र १९ वटा संस्थागत गरी कुल ३५६ विद्यालय सञ्चालनमा छन् । जिल्लाभरीका ७२ वटा माद्यमिक विद्यालयमा ७ हजार र २६५ आधारभुत विद्यालयमा २६ हजार गरी कुल ३३ हजार विद्यार्थी अद्ययनरत रहेका छन् । सात वटा गाउँपालिका र दुई वटा नगरपालिका गरी नौँ वटा पालिका रहेको दार्चुलाका सबै स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेको सम्बन्धित शिक्षा शाखाहरुले बताएका छन् । यद्धपी केहि विद्यालयहरु अझैपनि नियमित रुपमा सञ्चालन भइनसकेको पाइएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बन्द रहेका विद्यालय सञ्चालन गर्न कार्यविधी जारी गरेसँगै चैत देखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आएका हुन् । विद्यलाय लामो समयसम्म बन्द भएपछि सरकारले असार १ गते बाट वैकल्पिक शिक्षण सिकाइ सहजिकरण सुरु गरेको थियो । दुर्गम क्षेत्रका अधिकासं विद्यार्थीहरु बैकल्पिक शिक्षाको पहुँच बाहिर रहेकोले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कक्षा सञ्चालन गरिएको लेकम गाउँपालिकाका शिक्षा शाखा स्रोत ब्यक्ति मोहन देव विष्टले बताउनुभयो ।
आठ वटा स्थानीय तहमा यसअघि नै विद्यालय सञ्चालनमा आइसकेको र शैल्यशिखर नगरपालिकामा सोमबार देखि विद्यालय सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । दार्चुलामा हाल ३० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेकोले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सामुदायिक संगै संस्थागत विद्यालयहरु पनि सञ्चालनमा आएका छन् । बिहिबारदेखि पठनपाठन शुरु भएको गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलका प्रिन्सिपल राम बहादुर बोहराले बताउनुभयो । लेकम गाउँपालिका वडा नम्बर ५ स्थित लटिनाथ नमुना माबि चन्दनपुर चौपातामा बुधबारदेखि प्राविधिक धारका कक्षाहरुको समेत पठनपाठन शुरु भइसकेको छ ।
बैतडी जिल्लामा पनि सबै स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेको सम्बन्धित शिक्षा शाखाहरुले बताएका छन् । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै विगत देखि नै विद्यालय सञ्चालन गरिएको पुर्चौडी नगरपालिका शिक्षा शाखा संयोजक दिनेश नगारीले जानकारी दिनुभयो ।





