दार्चुला । नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकहरुको लागि पेन्सन बुझ्न दार्चुलाका तीन वटा नाका खुला गरिएको छ । भारतमा रहेका खाता नविकरण गर्न र पेन्सन बुझ्ने प्रयोजनका लागि दार्चुलाको खलंगा, जोलजीबी र लाली पूल खुला गरिएको हो ।
तीन वटै नाका बिहान १० बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ५ बजेसम्म खुला गरिएको छ । भारतीय पेन्सनरका लागि मात्र पुल खुल्ने भनिएपनि स्थानीय र ब्यापारीले समेत आवतजावत गरेका छन ।
दार्चुला सदरमुकामस्थित खलंगा नाका वाट ८० महिला र ४० पुरुष गरी एक सय २० जनाले आवतजावत गरेका छन । यस्तै मालिकार्जुन गाउँपालिकाको जौलजिबी नाका बाट १३ महिला र ३१ पुरुष गरी ४४ जना र लेकम गाउँपालिकाको लाली नाकाबाट ४ महिला, ६ पुरुष गरी १० जनाले आवतजावत गरेका छन् ।
तीन वटै नाका बाट जम्मा १ सय ७४ जनाले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । खलंगा र जोलजीबी पूल बिहीबारदेखि मंसिर १४ गतेसम्म र लाली पूल मंसिर १३ गतेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयपछि दार्चुलाको खलंगा नाका हप्तामा दुई दिन खुल्ने भएको छ । यात्रुहरुको चापलाई मध्यनजर गरेर हरेक बुधबार र शनिबार पुल खुलाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पूल बन्द हुँदा नेपाली मजदुर र विद्यार्थीहरु मार्कामा परेको भन्दै सातामा दुई दिन पुल खुलाउन भारतीय पक्षसंग समन्वय गरेसँगै पूल बुधबारबाट खुल्न थालेको छ ।
खलंगा पूल हरेक हप्ताको बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने भएको छ । दैनिक छ घण्टा पूल खुलेपछि सर्वसाधारण, मजदुर र विद्यार्थीलाई समेत सहज भएको खलंगाबासीले प्रतिक्रिया दिएका छन् ।
कोरोना भाइरसको जोखिमका कारण आठ महिनासम्म पुल नखुल्दा दार्चुलाका स्थानीयलाई किनमेल, बिहेबारी, औषधी उपचार, विद्यार्थीको पठन पाठन, रोजगारी लगायतका दैनिक जनजीवनमा कठिनाई उत्पन्न भएको बताइएको छ । पूल खुलेसँगै आठ महिना लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय पनि सुचारु भएको छ ।
भन्सार संकलन र नाकाबाट भित्रिएको सामाग्री परीक्षणका लागि खुलेको छोटी भन्सार कार्यालय दार्चुलाले भारतबाट म्याद नाघेको दैनिक उपभोग्य वस्तु तथा जंगफुडहरु भित्रिन थालेको बताएको छ । धार्चुलाका व्यापारीहरुले आठ महिना देखि विक्री नभएर थन्किएको समान अहिले नेपाली बजारमा पठाउन थालेका छन् ।




