शैल्यशिखर धाममा भोलि पुजन जात्रा लाग्ने (फोटोफिचर)

दार्चुला । देशकै सात धाममध्येको शैल्यशिखर मालिकार्जुनको बासस्थान रहेको शिखरमा जिल्लाको सबै भन्दा ठूलो पुजन जात्रा भोलि लाग्ने भएको छ । गत वर्ष नेपाल सरकारले छनोट गरेको देशभरीका एक सय पर्यटकिय गन्तब्यमा पर्न सफल, दार्चुला जिल्लाको प्रमुख धार्मीक पर्यटकीय तिर्थस्थल शैल्यशिखर मालिकार्जुन धाममा भोलि त्रयोदशीको दिन पुजन जात्रा लाग्ने मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिह धामीले जानकारी दिनुभयो ।

लेकम क्षेत्रको मालीकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ । यो वर्ष मालामासका कारण जात्राहरु एक महिना ढिलो भएपछि मंसिरमा पुजन जात्रा लाग्ने भएको हो ।

हिन्दू धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।

शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागि हुनकोलागी दार्चुलाको बिभिन्न क्षेत्र, सुदूरपहाडका बिभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन दर्शनार्थीहरु आजकै दिनदेखि आउने भएपनि यो वर्ष कोरोना भाइरसको प्रभावका कारण विगत वर्षहरुको तुलनामा भक्तजनहरुको उपस्थितिमा कमि आउने अनुमान गरिएको छ ।

शनिबार शिखर जात्रा सम्पन्न भएपछि आइतबार मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने गर्दछ । राती जात्रा लगाउदा विभिन्न समस्या र विकृतिहरुको सामना गर्नुपरेको भन्दै यो वर्षदेखि अधिकासं जात्राहरु दिउँसो लाग्ने भएका छन् ।

मालिकार्जुन मन्दिर मैखोलीमा आइतबार दिउँसो स्वास्थ्य सुरक्षालाई ख्याल गरेर जात्रा लाग्ने मालिकार्जुन मन्दिर मैखोलीका भरण्या गोबिन्द जोशीले बताउनुभयो । कोरोना भाइरसको जोखिमका कारण स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै जात्रामा सहभागि हुने मन्दिर व्यवस्थापन समितिहरुले अनुरोध गरेका छन् ।

दशै र द्धितिया तिथीबाट जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालीकाको पाती, कुणि लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाइ बढि महत्व दिइने गरेको छ । तर यो वर्ष कोरोनाको जोखिमबाट बच्न मन्दिरहरुमा पुजाआजा बाहेकका गतिविधिहरु गर्न रोक लगाइएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?