दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक भुक्तानीमा ढिलाइ भएको र कर्मचारीले समयमै तलबभक्ता नपाएको विषयमा संघर्ष समितिले बुधबार नगरपालिकाको ध्यानआकर्षण गराएको छ ।
शैल्यशिखर नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा गत वर्ष सम्झौता भइ काम सम्पन्न गरिसक्दापनि गत असार मसान्तभित्रै भुक्तानी गरिसक्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेको, करारमा कार्यरत कर्मचारीको तलबभत्ता नदिएको र प्रदेश सरकारबाट विद्यालय सहयोगीहरुलाई प्रदान गरिएको पोषाक भत्ता समेत नदिएको लगायत शैल्यशिखर नगरकार्यपालिकाका गलत कामहरुको बिरोध गर्दै तत्काल समाधानको प्रयास थाल्न शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टलाई लिखितरुपमा ध्यानआकर्षण गराएको संघर्ष समिति संयोजक राजेशसिंह बिष्टले बताउनुभयो ।
ध्यानआकर्षण पत्रमार्फत अबको २४ घण्टाभित्र उल्लेखित विषयहरुमा चित्तबुझ्दो निर्णय गरि भुक्तानी प्रकृयालाई अबिलम्ब अगाडी बढाउन सरोकारवालाहरुको गम्भीर ध्यानआकर्षण गरिएको जनाइएको छ । भुक्तानी प्रकृयामा आलटाल गरेमा जनताको सम्बैधानिक अधिकार हनन हुने र जनताको जनजीवनसंग प्रतक्ष सरोकार राख्ने विषयमा आर्थिक अनियमितता गरिए नगरकार्यपालिकामा अनिश्चितकालिन तालाबन्दि गरेर आम जनता सडक आन्दोलनमा उत्रिने चेतावनी दिइएको संयोजक बिष्टले बताउनुभयो ।
नगरपालिकाका गलत कामको खबरदारी गर्दै जनताको पक्षमा वकालत गर्न यहि मंसिर १७ गते बसेको भेलाबाट १७ सदस्यिय संघर्ष समिति गठन गरिएको समिति संयोजक बिष्टले बताउनुभयो ।
संघर्ष समितिको ध्यानआकर्षण पत्र बुझ्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च भएपछि गत वर्षको केहि भुक्तानी बाकी रहेको र छिट्टै भुक्तानी गर्न प्रयास गरिने प्रतिक्रिया दिनुभएको छ ।









प्रतिक्रिया