दार्चुलाको दुहुँ गाउँपालिकामा प्रशासकिय भवन निर्माण कार्यको शुभारम्भ भएको छ ।
स्थापना भएको तीन वर्ष पछि दुहुँ गाउँपालिकाले वडा नम्बर २ को गैरीखेत मन्तडमा आठ करोड बढी लागतमा शुक्रबार (आज) देखि आफ्नै भवन निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुहुँ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष गोबिन्द सिंह डडालको अध्यक्षतामा आयोजित प्रशासकिय भवन निर्माण कार्यको शुभारम्भ समारोहमा गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष इश्वरी जोशी र प्रमुख प्रशासकिय अधिकृत महेशबहादुर बमको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
शुभारम्भ समारोहमा प्रशासकिय भवन निर्माणका लागि जग्गादान गर्ने जग्गाधनी र नवनिर्मित हुने भवनसम्म जाने सडकका लागि जग्गादान गर्ने जग्गाधनीहरुलाई समेत फुलमाला र सम्मानपत्र सहित सम्मानित गरिएको गाउँपालिकाले जनाएको छ ।
दुहुँ गाउँपालिकाले आफ्नै भवन नहुदा स्थापना कालदेखि घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । प्रशासकिय भवन निर्माण सम्पन्न भएपछि प्रशासनिक कामकाज गर्न सजिलो हुने र भाडा समेत तिर्नु नपर्ने भएकोले तिब्र गतिमा भवन निर्माणको काम गर्न स्थानीयले सुझाब दिएका छन् ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाले यसअघि नै आफ्नो प्रशासकिय भवन निर्माण गरिसकेका छन् । भने अपिहिमाल गाउँपालिका लगायत केहि स्थानीय तहले भवन निर्माणाधिन अवस्थामा रहेको जनाएका छन् ।
लेकम गाउँपालिकामा अढाइ वर्ष पहिले रातामाटामा केन्द्र कायम भइसकेपछि स्थानीय पाठक परिवारले भवन निर्माणका लागि जग्गादान गरिसकेको भएपनि हालसम्म भवन निर्माणको काम शुरु भएको छैन् । लेकममा भवन निर्माणको लागि डिपिआर तयार भएको र बजेट समेत विनियोजन भइसकेको गाउँपालिकाले जनाएको छ ।
हालसम्म मार्मा र नौगाड गाउँपालिकाबाहेकका सात स्थानीय तह भाडाका भवनमा सञ्चालित छन् ।
महाकाली नगरपालिकाले झण्डै बार्षिक २० लाख भाडा तिरेर कर्मचारी अवास गृहमा कार्यालय सञ्चालन गरेको छ । शैल्यशिखर नगरपालिकाले समेत भवन भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ ।
बार्षिक करोडौँ बजेट विनियोजन गर्ने गाउँपालिका तथा नगरपालिकाहरुले स्थापना भएको तीन वर्ष बढी समय बितिसक्दासमेत आफ्नो भवन समेत निर्माण गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।














प्रतिक्रिया