दार्चुला । राष्ट्रिय परिचय पत्र दार्चुलाका सबै स्थानीय तहबाटै उपलब्ध गराउने गरी पहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट मात्रै परिचय पत्र वितरण गर्दा सबै जनताको सहभागितामा ढिलाई भएपछि हरेक स्थानीय तहबाटै परिचय पत्र वितरण गर्नको लागि पहल भएको हो ।
एकल स्टेशनबाट मात्रै परिचय पत्र वितरण हुँदा यसअघि नागरिकता लिएका सबैलाई सदरमुकाम खलंगा आउन सम्भव नदेखिएकोले हरेक स्थानीय तहबाटै वितरण गर्ने व्यवस्था मिलाउन राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । गत असोज ८ गतेबाट दार्चुलामा परिचय पत्र वितरण भइरहेको छ ।
परिचय पत्र वितरण शुरु गरिएको दुई महिना बढि हुँदा अहिलेसम्म चार सय छ जनाले मात्रै राष्ट्रिय परिचय पत्र बनाएका छन् । प्रशासन कार्यालयका अनुसार नयाँ नागरिकता बनाउन आउनेहरु मात्रै परिचय पत्र कार्यक्रममा सहभागि भएका छन् ।
प्रतेक नेपाली नागरिकको राष्ट्रिय परिचय पत्र बनाउने सरकारको लक्ष्य छ । नागरिकता बनाईसकेकाहरु राष्ट्रिय परिचय पत्र प्राप्तीका लागि फेरी सदरमुकाम खलंगा आउन नचाहाने भएकोले अहिलेको अवस्थामा स्थानीय तहमै स्टेशन बनाएर परिचय पत्र वितरण कार्यक्रममा समावेश गर्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता पनि आवश्यक पर्छ । दश अंकको नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरणका साथै थप विवरणहरु समेत समावेस गरिएको छ ।
चार महिनामा डेढ हजारले बनाए नागरिकता
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार पाँच सय १२ जनाले नागरिकता लिएका छन् । पहिलो चौमासिकमा नौ सय ७० पुरुष तथा चार सय ४२ महिलाले नागरिता लिएका हुन् ।
यस अवधिमा एक जनाले नाबालक परिचय पत्र र एक जनाले बैवाहिक अंगकृत नागरिता लिएका छन् । यस्तै नागरिकताको प्रतिलिपि बनाउनेको संख्या चार सय ८० रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङ्क छ ।





प्रतिक्रिया