दार्चुला । बैतडीमा बुधबार(आज) एक नवजात शिशु (छोरा) को शव फेला परेको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ सेटिगाउँ भन्ने ठाउँमा नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
आज दिउँसो स्थानीय बासिन्दाले गाउँ नजिकै मृत अवस्थामा शिशुको शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । ढुंगाले माथिबाट छोपेको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कुनै महिलाले गर्भपतन गराएर शव फालेको हुनसक्ने प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारील बताउनुभयो ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
शिशुको अवस्था हेर्दा गएराती फालेको जस्तो देखिएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक साउँदले बताउनुभयो । बच्चाको शरिरमा बाहिर देखिने कुनै चोटपटक नभएको उहाँले जानकारी दिनुभयो । नवजात शिशु कसले र किन फालेको भन्ने खुल्न सकेको छैन् ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




