दार्चुला । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को आफ्नै भवन निर्माण हुने भएको छ ।
यसका लागि रोयल खेमादेवी जेभीसँग एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो ।
झुलाघाटमा गत जेठ १० गते बीओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहेको छ । सीमा सुरक्षाका लागि झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बीओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ, भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।
सीमा सुरक्षाका लागि २४ सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।





प्रतिक्रिया