दार्चुला । मार्मा गाउँपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष ७ गते स्वाब संकलन गरिएकाहरुमध्ये एक जना महिला सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा गाउँपालिका स्वास्थ्य शाखा संयोजक चक्रसिंह धामीले बताउनुभयो ।
गाउँपालिकाभित्र कोरोना संक्रमित फेला परेपछि छ वटा विद्यालयहरु एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको मार्माका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकुमार रानाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभवित क्षेत्रका छ वटा विद्यालयमा एक हप्तासम्म पठनपाठन पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमित मध्ये केहि विद्यालयका शिक्षकहरु पनि रहेका छन् ।
मार्मामा पाँच जना संक्रमित थपिए संगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या आठ पुगेको छ । अपिहिमाल गाउँपालिकाका एक जना, लेकम गाउँपालिकामा दुई जना र विहीबार मात्रै संक्रमण पुष्टि भएका मार्मा गाउँपालिकाका पाँच जना गरी जम्मा आठ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
मार्मामा विभिन्न विद्यालयका शिक्षकहरु र अपि हाइड्रोपावरमा काम गर्ने केही स्थानीयहरुमा कोरोना संक्रमण देखिएको छ । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय पनि बन्द गरिएका छन् भने संक्रमण देखिएका अन्य क्षेत्र पनि शिल गर्ने तयारी भएको छ ।





