दार्चुला । नेपालको सबैभन्दा ठूलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समुहमा विभाजित भएपछि केन्द्रिय नेताहरु जस्तै जिल्ला र पालिकास्तरका नेताहरु समेत कित्ता किलियर गर्न थालेका छन् । केन्द्रमा प्रचण्ड–माधब समुहको बहुमत देखिएपनि जिल्ला र गाउँ तहमा ओली समुह अगाडी देखिएको बिश्लेषण हुन थालेको छ । यद्धपी औपचारिक विभाजनपछि नेकपाको आधिकारीकता र सुर्य चिन्ह पाउँने समुह नै हाबी हुने धेरैको बुझाइ भएकोले अहिले नै देशभरी कुन समुह अगाडी भनेर अनुमान गर्न कठिन छ ।
दार्चुलामा भने नेकपाको ओली समुह बहुमतमा देखिएको छ । २०७० र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना ओली समुहमा खुलेसंगै अधिकासं पूर्व एमालेका नेता, कार्यकर्ताहरु र केहि पूर्व माओबादीका नेता कार्यकर्ता समेत ओली समुहमा खुलेका छन् । नेकपा केन्द्रिय सदस्य समेत रहनुभएका नेता गणेशसिंह ठगुन्नालाई गत हप्ता प्रधानमन्त्री केपी सर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मन्त्री ठगुन्नाले आधिकारीक नेकपा प्रधानमन्त्री केपी सर्मा ओलीले नेतृत्व गरेको पार्टी नै भएकोले ओली समुहमा गोलबन्ध हुन नेता कार्यकर्ताहरुलाई अनुरोध गरिरहनुभएको छ । ओली समुहले यहि पुष २२ गते सुदूरपश्चिमको राजधानी धनगढीमा बृहत कार्यकर्ता भेलाको समेत आयोजना गरेको छ ।
स्रोतका अनुसार मन्त्री ठगुन्नाका साथै प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा, नेकपा दार्चुलाका सचिव उदयसिंह बडाल, नेताहरु रामदत्त जोशी, मोहनसिंह धामी, जेहेन्द्र ऐतवाल, हरदेब जोशी, खडक बडाल लगायत अधिकासं पूर्व एमाले नेताहरु ओली समुहमा खुलेका छन् । दार्चुलाका नौँ मध्ये चार स्थानीय तहमा नेकपाले नेतृत्व गरिरहेकोमा लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल ओली समुहमा खुलेका छन् । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी अहिलेसम्म कुनै पनि समुहमा नखुलेको बताइएको छ । पूर्व माओबादीबाट लालबहादुर बिक, प्रेम पन्त लगायत नेताहरु समेत ओली समुहमा खुलेको स्रोतले जनाएको छ ।
२०६४ सालको संबिधानसभा पहिलो निर्वाचनमा दार्चुलाबाट निर्वाचित हुनुभएका सभासद लक्ष्मण दत्त जोशीले नेतृत्व गरिरहेको नेकपा प्रचण्ड–माधब समुहमा अधिकासं पूर्व माओबादी नेताहरुका साथै केहि पूर्व एमालेका नेताहरु समेत खुलेका छन् । प्रचण्ड–माधव समुहमा नेता जोशीका साथै प्रदेश सभा सदस्य मानबहादुर धामी, नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्री, रामदत्त जोशी (आरडी), भगतसिंह ठेकरे, दिपक जोशी लगायत पूर्व माओबादीका अधिकासं नेताहरु खुलेका छन् । पूर्व एमालेको तर्फबाट नेता ज्ञानेन्द्र घर्ती, नगेन्द्र तिकंरी, गणेशकुमार जोशी, इन्द्र बिष्ट लगायत नेताहरु प्रचण्ड–माधब समुहमा खुलेका छन् । सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी अहिले तटस्थ भुमिकामा रहेपनि प्रचण्ड-माधव समुहमा खुल्ने निश्चितजस्तै छ । दुबै समुहले आफुहरु अग्रगामी र खास कम्युनिष्ट भएकोले आफ्नो समुहमा खुल्न नेता कार्यकर्ताहरुलाई औपचारीक, अनौपचारिक रुपमा अनुरोध गरिरहेका छन् ।
दार्चुलामा पुष १४ गते मंगलबार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विगठनको विरोधमा भएको र्याली तथा सभामा प्रचण्ड–माधव समूहमा अधिकांश पूर्व माओवादीका नेता कार्यकर्ता देखिएका थिए । धेरैले जिल्लामा प्रचण्ड–माधव समुह र केपी समुह भन्दा पनि अपवादबाहेक पूर्व एमाले र पूर्व माओवादीकै रुपमा कार्यकर्ता विभाजित भएको बताइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी भने अहिले सम्म कुनै पनि समुहमा खुल्नुभएको छैन् । तत्कालीन पूर्व माओवादीबाट मार्मा गाउँपालिका अध्यक्ष हुनुभएका धामी अहिले दुवै समुहका कार्यक्रममा सहभागी हुनुभएको छैन् । उहाँको दुबै समुहमा राम्रो सम्बन्ध भएकोले कित्ता किलियर गर्न पर्ख र हेर को अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उहाँ निकट नेताहरु बताउछन् ।
नेता जमनसिंह धामी पूर्व माओबादीबाट पार्टी एकता अभियानमा सहभागि भएपनि ओली समुहमा खुलेका मन्त्री गणेशसिंह ठगुन्नासंग नजिक भएकोले पार्टी विभाजनको दुरगामी विश्लेषण गरेर कित्ता किलियर गर्ने मनस्थितिमा रहेको बुझिएको छ । पुष १४ गते सदरमुकाम खलंगामा भएको प्रचण्ड–माधव समुहको कार्यक्रममा समेत उहाँ सहभागि हुनुभएन् । सदरमुकाम खलंगामै रहनुभएका अध्यक्ष धामी कार्यक्रममा नगई मौन बस्नुभएको छ । उहाँको मौनताको कारण प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रममा सहभागि हुन आएका मार्मा गाउँपालिकाका अधिकांश नेता कार्यकर्ता कार्यक्रममा सहभागि नभएर घर फर्किएका थिए ।
गत, विगत निर्वाचनमा नेताहरुले पाएको जनमत र कित्ता किलियर गरिसकेका नेताहरुको पहुँचका आधारमा दार्चुलामा ओली समुह प्रष्ट बहुमतमा रहेको राजनीतिक बजारमा चर्चा भइरहेको छ । केहि मध्यमार्गी नेता कार्यकर्ताहरु सुर्य चिन्ह जुन समुहले पायो सोहि समुहमा लाग्ने मनसायमा भएकोले अझैपनि मौन देखिएका छन् । जनवर्गिय संगठनका पदाधिकारीहरुमा विद्यार्थीमा ओली समुह र युवा संघमा प्रचण्ड-माधव समुह बहुमतमा देखिएको छ ।
नेकपा भित्र ओली र प्रचण्ड–माधव समुहबाहेक आफ्नो पनि तेस्रो समुह तयार भइरहेको नेकपा उपाध्यक्ष बामदेब गौतमले बताउनुभएको छ । नेता गौतमले आफु एकताका पक्षमा रहेकोले दुबै समुहलाई मिलाउने प्रयास गरिरहेको उल्लेख गर्दै मिल्ने अवस्था नआए आफ्नो एकताधर नेता कार्यकर्ता सहभागि तेस्रो कित्ता हुनसक्ने संकेत गर्नुभएको छ । दुबै समुहले आफ्नो पक्षमा तान्न प्रयास गरेपनि नेता गौतम कुनै पनि समुहमा देखिनुभएको छैन् ।




