दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । भर्तोला–उकु–लाली–सेरा सडक खण्डको डिपिआर तयार भएको बाटो भन्दा फरक ठाउँबाट सडक निर्माण गर्न लागीएको भन्दै वडा कार्यालमा तालाबन्दी गरिएको हो ।
डिपिआर तयार भएको ठाउँबाट फरक ठाउँमा सडक निर्माण गर्न लागिएकोले लाली बासिले आफुहरु मर्कामा परेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । सडक निर्माणको विषयमा लेकम गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरुलाई पटक पटक मौखिक अनुरोध गर्दा र ज्ञापन पत्र बुझाउदा समेत कुनै सुनुवाई नभएकोले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय डम्बर सिंह भण्डारीले बताउनुभयो ।
प्राविधिकहरुले डिपिआर तयार पारेको ठाउँबाट अन्य ठाउँमा सडक निर्माण गर्नु अन्यायपुर्ण भएको स्थानीयहरुको भनाई छ । संघीय (केन्द्र) सरकारको एक करोड ७२ लाख लागतमा निर्माण गरिन लागेको उक्त सडकको कार्यान्वयन सडक डिभिजन कार्यालय पाटनबाट भइरहेको छ । निर्माण व्यवसायी बिकास चन्दको कम्पनीसंग ठेक्का सम्झौता भएर काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशीले भने सडक निर्माण कार्य सुरु भएको तर डिपिआर भन्दा तलमाथी सडक निर्माण भएको विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उक्त सडकमा गाउँपालिका र वडा कार्यालयको आर्थिक र प्राविधिक सम्बन्ध नभएकोले सडक डिभिजन कार्यालय पाटनलाई तालाबन्दी भएको विषयमा जानकारी गराएको वडा अध्यक्ष जाशीले बताउनुभयो । पत्रमार्फत सडक डिभिजन कार्यालयलाई फिल्डमा इन्जिनियर खटाएर इलाइमेण्ट अनुसार सडक निर्माण गरेर विवाद समाधान गर्न भनिएको छ ।
लेकम गाउँपालका वडा नम्बर ३ खम्तड कौलीती टोलका स्थानीयले डिपिआर भएको ठाउँबाट केही माथी सडक निर्माण गर्नुपर्ने माग राखेको भएपनि सडक निर्माण डिपिआर भएकै ठाउँबाट भईरहेको केहि प्रतक्षदर्शीको दाबी छ । सडक डिपिआर भएको ठाउँभन्दा अन्य ठाउँबाट निर्माण भएको भन्ने गुनासो सहितको प्रत्र लेखेर गाउँपालिका उपाध्यक्ष माधवि जोशीको अध्यक्षतामा आज गाउँपालिकामा बैठक बसि सडक डिभिजन कार्यालय पाटन र ठेकेदारलाई जानकारी सहितको पत्र पठाएको छ ।
सडक निर्माण कार्यमा अबरोध भएकोले डिपिआर अनुसार सडक निर्माण गर्नका लागि डिभिजन कार्यालयबाट प्राविधिक टोली खटाउन अनुरोध गरिएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले जानकारी दिनुभयो । विवाद समाधानका लागि प्रयास हुदाहुदै वडा कार्यालयमा तालाबन्दी गर्नु दुखद भएको वडा अध्यक्ष राजेन्द्रप्रसाद जोशीको भनाई छ । आफुले एक दुई दिन भित्र छलफल गरेर विवाद समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाएपनि स्थानीयहरुले तालाबन्दी गरेको उहाँले बताउनुभयो ।
लालीका स्थानीयले केन्द्रिय सडक भएकोले सिधै लालीबाट अगाडी लैजानुपर्ने माग गरेका छन् । भने खम्तडका स्थानीयको सडक गाउँहुदै अगाडी लैजानुपर्ने अडान लिएका छन् । वडा अध्यक्ष जोशी केहि दिन देखि वडा कार्यालय बाहिर रहेको बुझिएको छ ।






