दार्चुला । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको छ । पुलिसलाई वाग्मती प्रदेशले सात विकेटले हराएको हो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो ।
पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले समान १७ / १७ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१ / २१ रन बनाए । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् ।
वाग्मतीका तिलक भण्डारी र नन्दन यादवले चाररचार तथा रामनरेश गिरीले दुई विकेट लिए ।
जितका लागि एक सय १२ रनको लक्ष्य पाएको वाग्मतीले ३४ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका पृथु बाँस्कोटाले ४८ र इशान पाण्डेले अविजित १७ रन बनाए ।
बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक / एक विकेट लिए ।





प्रतिक्रिया